ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा संंक्रमण

60
Shares

काठमाडौँ, १८ चैत । बागलुङको ढोरपाटनमा दादुरा संंक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा संंक्रमण फैलिएको थियो ।

फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संंक्रमितको संख्यामा कमी आए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन भने सकेको छैन ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो ।

खोप लगाएपछि दैनिक संक्रमित हुनेको संख्या कम भए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।

उनका अनुसार, ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शंकास्पद बिरामी रहेका उनको भनाइ छ । हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

दादुराको लक्षण देखिएका ३३ जनाको नमुना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ ।

हालसम्म पाँच हजार ९३४ जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

हालसम्म २०५ शंकास्पद बिरामी छन् । हाल चार बिरामी अस्पतालमा उपचाररत छन् ।

तमानखोलामा शंकास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै पालिकामा खोप लगाउने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *