केपी ओलीको स्वास्थ्यमा सुधार, हल्टर मोनिटर निकालियो

काठमाडौँ, १८ चैत । गत शनिबारबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
परीक्षणका लागि पठाइएका रिपोर्टहरु नर्मल आउन थालेका छन् । पिसावमा देखिएको संक्रमणको जाँचका लागि पठाइएको युरिन कल्चरको रिपोर्ट आज आउँदै छ । त्यो रिपोर्ट हेरिसकेपछि थप आवश्यक निर्णय लिईने अस्पतालले जनाएको छ ।
अस्पतालका उप निर्देशक प्राडा गोपाल सेडाईंले पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको बताए । ‘ल्याउँदाको अवस्था भन्दा त अहिले धेरै नै राम्रो छ । तर युरिन कल्चरको रिपोर्ट आइसकेको छैन । आज दिउसो आउँछ । त्यसपछि टिमले आवश्यक निर्णय गर्छ,’ उनले भने ।
गौरीबहादुर कार्की नेतृत्वको छानविन समितिले गत २३ र २४ भदौको जेनजी आन्दोलनको दोशी करार गर्दै केपी ओलीलाई कारवाहीको सिफारिस गरेपछि प्रहरीले गत शनिबार विहानै उनलाई भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएको थियो ।
हिरासतमा राख्नु अघि स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर त्यसबेला पिसावमा संक्रमण, मुटुको चालमा गडबडी लगायतका समस्या देखा परेपछि चिकित्सकले भर्ना गर्नु पर्ने बताएका थिए । त्यस लगत्तै उनलाई एनेक्स २ को ५०१ क्याविनमा भर्ना गरि राखिएको छ ।
डा सेडाईले मुटुको चाल पनि अहिले कुनै समस्या नदेखिएको बताए । ‘४८ घण्टा हल्टर मोनिटरबाट जाँच गरियो । समस्या देखिएन । अहिले हल्टर निकालिएको अवस्था छ,’ उनले जानकारी दिए ।
प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनासाथ महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाउने बताएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 