इरानको एक प्रमुख औषधी उद्योगमाथि अमेरिका इजरायलको आक्रमण
इरान भन्छ- 'आक्रमणकर्तालाई कडा सजाय दिइनेछ'

तेहरान । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणले मंगलबार दिउसो इरानको राजधानी तेहरानमा रहेको एक प्रमुख औषधी उत्पादन कम्पनीमा ठूलो क्षति पुर्याएको छ।
आक्रमणबाट क्यान्सर, एनेस्थेसिया तथा अन्य जटिल रोगका औषधी उत्पादन गर्ने टोफिघ दारु रिसर्च एण्ड इन्जिनियरिङ कम्पनी” नामक उद्योगमा क्षति पुगेको हो । कम्पनीले आक्रमण पछि विशेष औषधी उत्पादन प्रणाली अवरुद्ध भएको बताएको छ।
राज्य–नियन्त्रित सामाजिक सुरक्षा लगानी कम्पनीअन्तर्गत सञ्चालनमा रहेको यो उद्योगले क्यान्सर, मुटुरोग तथा प्रतिरक्षा प्रणालीसम्बन्धी औषधीका कच्चा पदार्थ उत्पादन गर्दै आएको थियो।
इरानी सरकारले उक्त आक्रमणलाई “नागरिक संरचनामाथिको स्पष्ट हमला” भन्दै आलोचना गरेको छ। पूर्व विदेशमन्त्री जवाद जरिफले पनि स्वास्थ्य सेवा क्षेत्रमै लक्षित आक्रमण गरिएको भन्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्धको कदम बताएका छन्।
विदेशमन्त्री अराघचीको कडा प्रतिक्रिया
यस घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलमाथि तीव्र आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘इजरायलका युद्ध अपराधीहरूले अब खुलेआम औषधी उत्पादन गर्ने कम्पनीहरूमा आक्रमण गरिरहेका छन्। उनीहरूको उद्देश्य स्पष्ट छ।’
अराघचीले इजरायललाई चेतावनी दिँदै थपे, ‘उनीहरूले एउटा ठूलो गल्ती गरेका छन्—उनीहरू अब असहाय नागरिकसँग होइन, शक्तिशाली सशस्त्र बलसँग सामना गरिरहेका छन्। आक्रमणकर्तालाई कडा सजाय दिइनेछ।’
स्वास्थ्य क्षेत्रमा आक्रमणले थपिएको चिन्ता
स्वास्थ्य विज्ञहरुले औषधी उत्पादन गर्ने उद्योगमै आक्रमण हुनु गम्भीर विषय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आक्रमणबाट देशभित्र क्यान्सर लगायत दीर्घरोगका बिरामीहरूको उपचारमा औषधी अभाव सिर्जना गर्न सक्ने बताएका छन् ।
‘दीर्घकालीन रूपमा यसले इरानको स्वास्थ्य प्रणालीमा ठूलो संकट निम्त्याउने जोखिम देखिएको छ,’ विज्ञहरुले भनेका छन् ।
इरानमा रहेको डब्लुएचओ कार्यालय नजिक बिस्फोट, कार्यालयमा सामान्य क्षति
पछिल्ला दुई रातयता भएको इजरायलि अमेरिकी आक्रमणबाट तेहरानमा रहेको विश्व स्वास्थ्य संगठनको कार्यालयमा जोखिम बढाएको छ । कार्यालय नजिकै भइरहेका पछिल्ला दुईदिनको विस्फोटबाट डब्लुएचओ कार्यालयका झ्यालका सिसा फुटेका छन् र भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।
डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोभ गेभ्रेयसयसले विज्ञप्ती जारी गर्दै भनेका छन्, स्पष्ट रूपमा पहिचान गरिएका अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूको संरचनामाथि हुने यस्ता आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैनन्।
विस्फोटका बावजुत उक्त कार्यालयमा कार्यरत सबै कर्मचारीहरू सुरक्षित रहेका छन् र कुनै मानवीय क्षति भएको छैन। यद्यपि, आक्रमणको प्रभावले कार्यालयको नियमित कामकाजमा अवरोध पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 