पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा अन्तरविभागीय विशेषज्ञ चिकित्सकको टोली
मुटुको जाँचका लागि राखिएको हल्टर मोनिटर ४८ घण्टा यथावत

काठमाडौँ, १६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । उनको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा अन्तर विभागीय विशेषज्ञ चिकित्सकहरुको टोली गठन गरेको छ ।
अस्पतालका प्रवक्ता कालिप्रसाद रोसायराले पूर्व प्रधानमन्त्री ओलीको उपचारका उच्चस्तरीय विशेषज्ञ टिम बनाइएको बताए । उनले भने, ‘उहाँको उमेर अवस्था र दुई पटक मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएका कारण पनि हामीले कार्डियोलोजिष्ट्, नेफ्रोलोजिष्ट, मेडिसिन, जनरल सर्जरी, प्रयोगशाला विभागबाट विशेषज्ञहरु रहेको एउटा मेडिकल टिम गठन गरेका छौँ । सोही टिमले आवश्यक परामर्श तथा उपचार गर्दै आएको छ ।’
उनले उपचारमा सहभागी चिकित्सकको नाम उल्लेख गर्न भने चाहेनन् ।
आइतबार मात्रै जिल्ला अदालत काठमाडौँले पनि ओलीको उपचारमा प्रभावकारी व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
प्रवक्ता रोसायराले अहिले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
उनले उनले आइतबार देखि मुटु जाँचका लागि राखिएको हल्टर अहिले पनि यथावत राखिएको र ४८ घण्टासम्म राखिने योजना चिकित्सक टोलीले सुनाएको उल्लेख गरे । त्यसपछि उनको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने भन्ने विषयमा आवश्यक निर्णय वा योजना बनाउने समेत जानकारी दिए ।
ओलीले भने आफ्नो सबै उपचार अहिलै नै गरिदिन आग्रह गरिरहेका छन् ।
गत २३ र २४ भदौमा भएको जेन जी आन्दोलनको घटनाको छानवीन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको सिफारिसको आधारमा गत शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
सुरुमा मुटुको चाल अनियमित देखिएपछि भर्ना गरिएको उनको थप जाँचका क्रममा अरु केही समस्याहरु देखिएको अस्पतालले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 