तौल घटाउने औषधिमा भारतको चेतावनी

84
Shares

काठमाडौँ, १० चैत । तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ ।

ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ ।

विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ ।

जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् ।

तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधि चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्टहरू उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म, थोक विक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । “उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ”, मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैसँगै भारतको औषधि नियामक निकायले निरीक्षण कडा बनाउँदै उत्पादकहरूलाई भ्रामक प्रचार र औषधिको गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ ।

विश्व मोटोपना महासङ्घका अध्यक्ष साइमन बार्केराले औषधिले मात्र मोटोपनाको समस्या समाधान नहुने बताउनुभयो । उहाँका अनुसार मोटोपना जटिल र दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैली र रोकथामका उपाय उत्तिकै आवश्यक हुन्छन् ।

भारतमा तौल घटाउने औषधिको बजार पछिल्ला पाँच वर्षमा तीव्र रूपमा बढेको छ । सन् २०२६ सम्ममा यसको कारोबार १५ करोड ३० लाख डलर पुगेको छ भने सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुपोषणको एक तिहाइ हिस्सा अझै भारतमै रहेको भए पनि बढ्दो आय र सहरी जीवनशैलीका कारण मोटोपनाको दर तीव्र रूपमा बढिरहेको छ ।

सरकारी तथ्याङ्कअनुसार भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा छन् ।

यसअघि यस्ता औषधिको मासिक खर्च १५ हजारदेखि २२ हजार भारतीय रुपैयाँसम्म पर्ने भएकाले प्रयोग सीमित थियो ।

तर पेटेन्ट सकिएपछि जेनेरिक सेमाग्लुटाइड औषधिको मूल्य घटेर एक हजार ३०० देखि चार हजार २०० रुपैयाँसम्म पुगेको छ, जसले प्रयोगको दायरा विस्तार गरेको छ ।

यद्यपि सस्तो मूल्यसँगै अनियन्त्रित प्रयोगको जोखिम बढेकाले भारतले औषधिको सुरक्षित प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *