क्षयरोग नियन्त्रण कार्यमा राष्ट्रिय साझेदारका रूपमा समावेश गर्न आग्रह

32
Shares

काठमाडौँ, १० चैत । विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं) ले क्षयरोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन खुद्रा औषधि व्यवसायीहरूलाई औपचारिक रूपमा राष्ट्रिय साझेदारका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग अझै पनि विश्वकै प्रमुख संक्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनका तथ्यांक उद्धृत गरेको छ।

सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिस क्षयरोगबाट प्रभावित भएका थिए भने करिब १२ लाख ३० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ।

यस वर्षको विश्व क्षयरोग दिवसको सन्देश “हो हामी क्षयरोग अन्त्य गर्छौ : राष्ट्रिय अभियान, हाम्रो योगदान” भनी डब्लुएचओले अघि सारेको सन्दर्भमा संघले राजनीतिक इच्छाशक्ति, सामुदायिक सहभागिता र बहु-क्षेत्रीय सहकार्य अपरिहार्य रहेको जनाएको छ।

नेपालमा पनि क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा कायम रहेको उल्लेख गर्दै संघले औषधि प्रतिरोधी क्षयरोग (डीआर-टीबी) बढ्दो चिन्ताको विषय बनेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “समयमै पहिचान, परीक्षणमा पहुँच र उपचार निरन्तरता सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ।”

संघका अनुसार बिरामीहरूमा लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने वा राति पसिना आउने लक्षण देखिँदा उनीहरू प्रायः सबैभन्दा पहिले नजिकको औषधि पसलमा पुग्ने गर्छन्। त्यसैले खुद्रा औषधि व्यवसायीहरूलाई टीबी नियन्त्रणको “पहिलो सम्पर्क बिन्दु” का रूपमा औपचारिक मान्यता दिनुपर्ने माग गरिएको छ।

संघले JANTRA सँगको सहकार्यमा विभिन्न क्षेत्रमा क्षयरोग सम्भावित बिरामी पहिचान, परीक्षणका लागि रेफरल र समुदायस्तरमा सक्रिय परिचालन गर्दै आएको जनाएको छ। यस अभ्यासले प्रारम्भिक पहिचान, रेफरल र उपचार पालना (adherence) मा सकारात्मक परिणाम दिएको दाबी गरिएको छ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायत सरोकारवाला निकायसँग औषधि व्यवसायीहरूलाई मोडलमार्फत राष्ट्रिय कार्यक्रममा समावेश गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा संघले सात बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ। यसमा टीबी लक्षण भएका बिरामीको प्रारम्भिक पहिचान र रेफरल, जनचेतना अभिवृद्धि, उपचार बीचमै नछोड्न प्रेरणा, औषधिको जिम्मेवार प्रयोग, डीआर-टीबी न्यूनीकरण र नीति संवादमा सक्रिय सहभागिता जनाउने उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *