चिकित्सक संघको रोकिएको निर्वाचन चैत भित्र सम्पन्न गर्ने प्रयास
अदालतमा विचाराधिन मुद्धाका कारण मिति तोक्न समस्या

काठमाडौँ, ४ चैत । नेपाल चिकित्सक संघको रोकिएको निर्वाचनलाई चैत महिना भित्रै सम्पन्न गर्ने प्रयास गरिएको छ । निर्वाचन समितिले उम्मेदवारी दिएका चिकित्सकहरुको समूहका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीसंग रोकिएको निर्वाचन गर्ने बारेमा बुधबार छलफल गरेको थियो ।
सो क्रममा अधिकांश सहभागीहरुले चैत महिना भित्रै निर्वाचन सम्पन्न गर्नु पर्ने धारणा राखेका थिए । तर उच्च अदालत पाटनले निर्वाचन समितिका नाममा यथास्थितिमा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको अवस्था छ । यसले गर्दा निर्वाचन समिति निर्वाचनको नयाँ मिति तोक्न समेत अलमलमा छ ।
आगामी ९ चैतमा उच्च अदालतमा यहि मुद्धाको पेशी तोकिएको छ, त्यसमा नयाँ केही आयो भने सोही अनुसार होला नत्र त अहिले नै भन्न नसकिने अवस्था छ । बुधबारको बैठकमा टिम मंगलबाट डा मंगल रावलसंगै उनका प्रतिनिधिहरु, टीम बद्रीबाट डा बद्री रिजालसहित उनका टिम, टिम रिफर्मबाट डा अमृत भुसाल सहितको टीमका साथै चिकित्सक संघका प्रतिनिधिहरुको सहभागिता थियो ।
निर्वाचनबाट छनौट भई पेशागत हक हितमा लाग्नु पर्ने संस्था अहिले मुद्धामामिलामा अल्झिएर बसेको छ ।
‘यसलाई थप लम्व्याउन हुँदैन भन्ने सबैको मत छ तर हाम्रो हातमा पनि छैन अबको पेशीमा उच्च अदालतले के भन्छ ? त्यसपछि मात्रै डिसिजन गर्ने होला । अहिलेलाई प्रतिस्पर्धीहरुसंग मोटामोटी छलफल गर्ने काम भइरहेको छ । यो क्रम थप केही चरणमा चल्न सक्छ,’ बैठकमा सहभागि एक सहभागीले भने ।
ती सहभागीका अनुसार कुरा मिल्यो भने उपत्यका बाहिर चैतको २० र २१ गते तथा काठमाडौँ उपत्यका भित्र २८, २९ र ३० चैतमा निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । तर यसको अहिले नै फाइनल भने भईसकेको छैन ।
कतिपय चिकित्सकले बर्तमान निर्वाचन समिति विधान अनुसार निर्वाचन गर्न असक्षम भएकोले उनीहरुको राजिनामा आउनु पर्ने बताउन थालेका छन् । यसले पनि निर्वाचनको नयाँ मितिको सन्दर्भमा थप अलमल भएको हुन सक्ने बताइएको छ ।
उम्मेदवारी मनोनयनमा उठेको विवादलाई निर्वाचन समितिले सहजीकरण गर्न नजान्दा निर्वाचन लम्बिएको हो । असन्तुष्ट पक्षले निर्वाचन समितिको कामलाई अवैध भन्दै निर्वाचन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि अदालतले पनि नियमानुसार निर्वाचन प्रक्रिया अघि नबढेको भन्दै यथास्थितिमा निर्वाचन नगर्न गत २० पुसमा निर्वाचन समितिका नाममा अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि लगत्तै प्रतिनिधि सभा सदस्य पदको निर्वाचन र त्यसकारण लागेको आचारसंहिताले रोकिएको निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन । अब प्रतिनिधि सभा सदस्य पदको निर्वाचन पछि सोही समितिले छलफल अघि बढाएको हो ।
नेपाल चिकित्सक संघको निर्वाचन यथास्थितिमा नगर्न उच्च अदालतको अन्तरिम आदेश
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 