सार्क मुलुकमा औसत आयु बढ्दो क्रममा : माल्दिभ्स पहिलो हुँदा नेपाल पाँचौँ

काठमाडौँ, २ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका देशहरूमा नागरिकको औसत आयु क्रमशः बढ्दो क्रममा देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्यांकका आधार औसत आयु बढेको पाइएको हो । विज्ञहरुले यी देशहरुमा स्वास्थ्य सेवा विस्तार, खोप कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सुधार तथा सरसफाइमा भएको प्रगतिले औसत आयु बढाउन सहयोग पुगेको बताएका छन् ।
डब्लुएचओको तथ्यांक अनुसार माल्दिभ्समा औसत आयु सबैभन्दा बढी ७९ वर्ष रहेको छ। त्यहाँ सरकारले सबै नागरिकलाई पूर्ण निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। तर जटिल रोगको उपचारका लागि अझै पनि विदेशमा निर्भर रहनुपर्ने अवस्था चुनौतीका रूपमा रहेको छ।
दोस्रो स्थानमा रहेको श्रीलंकामा औसत आयु ७७ वर्ष पुगेको छ। बलियो सार्वजनिक स्वास्थ्य सेवा प्रणाली, प्रभावकारी प्राथमिक स्वास्थ्य केन्द्र तथा सफल खोप कार्यक्रमका कारण श्रीलंकाले दक्षिण एसियामा राम्रो स्वास्थ्य सूचक कायम गरेको छ। यद्यपि बृद्ध जनसंख्या बढ्दै जानु र आधुनिक उपकरणको सीमितता त्यहाँको चुनौती मानिएको छ।
त्यसैगरी बंगलादेश र भुटानमा औसत आयु ७२ वर्ष रहेको छ। बंगलादेशमा सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा सामुदायिक स्वास्थ्य सेवा बलियो बनेको छ भने भुटानमा सरकारले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। तर दुर्गम क्षेत्रमा सेवा पहुँच र विशेषज्ञ स्वास्थ्यकर्मीको कमी अझै चुनौती बनेको छ।
नेपालमा औसत आयु ७१ वर्ष पुगेको छ, जसले सार्क क्षेत्रभित्र नेपाललाई पाँचौँ स्थानमा राखेको छ। नेपालमा सरकारी र निजी दुवै क्षेत्रको मिश्रित स्वास्थ्य प्रणाली सञ्चालनमा छ। प्राथमिक स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवाको विस्तार भए पनि ग्रामीण क्षेत्रमा सेवा पहुँच असमान हुनु र स्वास्थ्य जनशक्तिको अभाव प्रमुख समस्या मानिएको छ ।
सार्कको सबैभन्दा ठूलो देश भारतमा औसत आयु ७० वर्ष रहेको छ ।
उता पाकिस्तान मा ६७ वर्ष र अफगानिस्तान मा ६३ वर्ष रहेको छ।
भारतमा सरकारी र निजी दुवै क्षेत्रको ठूलो स्वास्थ्य सेवा बजार भए पनि ग्रामीण र सहरी क्षेत्रबीच सेवा पहुँचमा ठूलो अन्तर रहेको छ।
पाकिस्तानमा स्वास्थ्य सेवाको नियमन कमजोर रहेको बताइन्छ भने अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व, अस्थिरता र कमजोर पूर्वाधारका कारण स्वास्थ्य सेवा प्रणाली प्रभावित भएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार प्राथमिक स्वास्थ्य सेवामा लगानी, पोषण सुधार, सुरक्षित मातृत्व, खोप कार्यक्रम तथा सरसफाइमा सुधार जस्ता कार्यक्रमहरूले दक्षिण एसियाली देशहरूमा औसत आयु बढाउन महत्वपूर्ण योगदान दिएका छन्। तर स्वास्थ्य सेवा पहुँचमा असमानता, विशेषज्ञ जनशक्तिको कमी तथा आर्थिक सीमितता अझै पनि यस क्षेत्रका मुख्य चुनौतीका रूपमा रहेका छन्।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ