चिनी नखाँदासमेत बढ्न सक्छ ब्लड सुगर, नियन्त्रणका लागि परिवर्तन गरौँ यी चार बानी

काठमाडौँ, १ चैत । धेरै मानिसले चिनी वा कार्बोहाइड्रेटयुक्त खाना खाँदा मात्र ब्लड सुगर बढ्छ भन्ने विश्वास गर्छन्। तर विज्ञहरूले यसमा पूर्ण सहमत छैनन् । उनीहरु भन्छन्, ‘तपाईँको ब्लड सुगर बढाउन तपाईँले खाने भात होईन तपाईको दैनिक जीवनका केही बानीहरु मुख्य कारक हुन सक्छन् ।’
क्यानडाकी नेचुरोप्याथिक चिकित्सक डा रचेल भोङले सामाजिक सञ्जालमार्फत पर्याप्त निद्रा नलिनु, अत्यधिक तनाव लिनु, खाना छोड्नु र बिहान खाली पेट कफी पिउनुजस्ता बानीले ब्लड सुगरमा अप्रत्याशित वृद्धि हुन सक्ने बताएकी छन्।
यस विषयमा थप स्पष्ट पार्दै शारदाकेयर हेल्थसिटीका निर्देशक समेत रहेका अर्का चिकित्सक डा. रिचाग टण्डन यी बानीले शरीरको ग्लुकोज नियन्त्रण प्रणालीमा प्रत्यक्ष प्रभाव पार्छ।
१. पर्याप्त निद्रा नहुनु :
डाक्टर टण्डनका अनुसार राति ६ घण्टाभन्दा कम सुत्दा बिहानको फास्टिङ ब्लड सुगर बढ्न सक्छ। निद्रा कमी हुँदा शरीरमा इन्सुलिन प्रतिरोध बढ्ने भएकाले ग्लुकोज लामो समयसम्म रगतमा रहन्छ।
निद्रा कमीले कोर्टिसोल हर्मोनको स्तर बढाउँछ, जसले कलेजोलाई थप ग्लुकोज रगतमा पठाउन संकेत गर्छ। साथै बिहान स्वाभाविक रूपमा हुने ब्लड सुगरको वृद्धि, जसलाई डाउन इफेक्ट भनिन्छ, खराब निद्राका कारण अझ बढ्न सक्छ।
२. तनाव :
तनाव हुँदा शरीरले ‘फाइट–अर–फ्लाइट’ प्रतिक्रिया देखाउँछ। यस क्रममा एड्रेनालिन र कोर्टिसल जस्ता हर्मोन सक्रिय हुन्छन्, जसले कलेजोमा भण्डारण भएको ग्लुकोज रगतमा पठाउँछन्। लामो समयसम्मको तनावले इन्सुलिन प्रतिरोध बढाउन सक्ने भएकाले नियमित व्यायाम, ध्यान तथा पर्याप्त निद्राले तनाव नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
३. खाना छोड्नु :
लामो समयसम्म खाना नखाँदा शरीरले ऊर्जा कायम राख्न कलेजोमा भण्डारण गरिएको ग्लुकोज रगतमा पठाउन सक्छ। यसले कहिलेकाहीँ अचानक ब्लड सुगर बढ्ने अवस्था सिर्जना गर्छ। डायबिटिजको औषधि सेवन गर्ने व्यक्तिमा खाना छोड्दा हाइपोथर्मिया अर्थात् ब्लड सुगर अत्यधिक घट्ने जोखिम पनि रहन्छ।
४. बिहान खाली पेट कफी:
धेरै मानिस बिहान उठ्नेबित्तिकै कफी पिउने गर्छन्। तर क्याफिनले केही व्यक्तिमा इन्सुलिनको संवेदनशीलता अस्थायी रूपमा घटाउन सक्छ। यसले कोर्टिसोल बढाएर कलेजोलाई थप ग्लुकोज रगतमा पठाउन प्रेरित गर्न सक्छ। यदि कफीमा चिनी वा फ्लेभरयुक्त क्रीम मिसाइएको छ भने ब्लड सुगर अझ बढ्न सक्छ।
विशेषज्ञहरूका अनुसार ब्लड सुगर नियन्त्रणका लागि केवल खानामा ध्यान दिनु मात्र पर्याप्त हुँदैन। पर्याप्त निद्रा, तनाव नियन्त्रण, नियमित भोजन र स्वस्थ बिहानको बानी अपनाउनु पनि उत्तिकै आवश्यक हुन्छ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ