नेपाल चिकित्सक संघको रोकिएको निर्वाचन अघि बढाउने योजनामा समिति, बुधबार उम्मेदवारसंग छलफल गर्दै

88
Shares

काठमाडौँ, १ चैत । नेपाल चिकित्सक संघको निर्वाचन समितिले रोकिएको निर्वाचन कार्यक्रम अघि बढाउन आगामी बुधबार उम्मेदवारहरु तथा तिनका प्रतिनिधिसंग छलफल गर्ने भएको छ ।

समितिको शनिबार सम्पन्न बैठकले रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउने योजना अनुरुप उम्मेदवारसंग छलफल गर्ने निर्णय गरेको हो ।

समितिका प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले सूचना जारी गर्दै आगामी बुधबार विहान ११ बजे संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा उपस्थित हुन उम्मेदवार वा तिनका प्रतिनिधिलाई आग्रह गरेका छन् ।

डा शाक्य नेतृत्वको निर्वाचन समितिले विधान विपरितको कार्य गर्दा १७ माघमा सम्पन्न हुने निर्वाचन धकेलिदै यहाँसम्म आएको हो ।

समितिले विधान विपरित डा अरुण शाहीसहित सहितका केही चिकित्सकहरुको उम्मेदवारी रद्ध गर्ने निर्णय गरेपछि उनीहरु जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालत पुगेका थिए ।

उच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पछि अहिले सबैको उम्मेदवारी कायम भएको छ । अझ अदालतले त चिकित्सक संघ र यो निर्वाचन समितिलाई यथास्थितिमा निर्वाचन नगर्न अर्को आदेश समेत दिएको थियो ।

आफ्ना पुराना निर्णय र अदालती प्रक्रियामा झन् झन् अल्झिएको निर्वाचन समिति ट्रयाकमा आउँदा नआउँदै प्रतिनिधि सभा सदस्य पदको निर्वाचन आचार संहिता लागू भएको थियो । अब प्रतिनिधि सभा सदस्य पदको निर्वाचन आचार संहिता सकिएकोले यताको निर्वाचनलाई अघि बढाउन खोजिएको हो ।

कतिपयले वर्तमान निर्वाचन समिति विधान विपरित काम गरेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न नसकेकोले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताउन थालेका छन् । तर समिति भने यस विषयमा मौन रहँदै रोकिएको निर्वाचन गराउने प्रयासमा लाग्न थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *