औषधीको समुचित प्रयोगबारे जानकारी दिने डिजिटल प्लेटफर्म ‘एपोन केयर्स’ सञ्चालनमा

काठमाडौँ, २९ फागुन । तपाईँ बिसन्चो हुँदा डाक्टर भेटन अस्पताल जानु हुन्छ कि ? डाक्टरको परामर्श विना औषधी किनेर खानु हुन्छ ? त्यसरी आफूखुशी औषधी खाँदा के कस्ता समस्या हुन सक्छन् ? औषधी कति खाने ? कसरी खाने ? कसरी सुरक्षित राख्ने ? कुन तापमानमा राख्ने ? हेर्दा सामान्य प्रश्न भए पनि धेरै सर्वसाधारणले यसबारेमा खासै ध्यान दिईरहेको हुँदैनन् ।
नेपाल औषधी उत्पादक संघ (एपोन)ले यिनै प्रश्न तथा जिज्ञासा मेट्न डिजिटल प्लेट फर्म एपोन केयर्स सञ्चालनमा ल्याएको छ ।
यो डिजिटल प्लेटफर्मको सहायतामा आम नागरिक तथा बिरामीले औषधीको समुचित प्रयोगबारेमा विविध कुराहरु थाहा पाउने छन् ।

बिहीबार देखि सुरु भएको ‘नेपाल फर्मा एक्स्पो -२०२६’ को उद्घाटन सत्रमा प्रमुख अतिथि बनेकी स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले एपोन केयर्स डिजिटल प्लेट फर्मको लोकार्पण गरिन् ।
एपोन अध्यक्ष विप्लब अधिकारीले औषधी प्रयोगका सहि तरिका, जानकारी र सचेतना फैलाउने योजनाका साथ ‘एपोन केयर्स’ सञ्चालनमा ल्याइएको बताए ।
‘हामी औषधीमा आत्मनिर्भर योजनाका साथ अघि बढी रहेका छौँ । यस अवस्थामा औषधीको समुचित प्रयोगसंगै नेपालमा उत्पादन हुने औषधीको गुणस्तर देखि उत्पादन प्रक्रियाबारेमा बताउन जरुरी छ । औषधी उत्पादन गर्ने उद्योग र प्रयोग गर्ने नागरिकबीच विश्वास कायम गर्न पनि यसले भूमिका खेल्नेछ,’ अध्यक्ष अधिकारीले भने ।
एपोन केयर्सको फेसबुक पेज मार्फत प्रशारण हुने भिडियो तथा टेक्ष्टले औषधीका बारेमा उठेका प्रश्नको जवाफ दिनेछ ।
कसैलाई थप जानकारी लिन मन लागेका पेजको म्यासेज बक्समा गएर प्रश्न गर्न सकिने समेत अधिकारीले बताए ।
‘नेपालमा औषधी उद्योग त खुले तर कैयौँ नेपालीहरुमा नेपाली औषधीका बारेमा अझ पनि भ्रम छ । यिनै भ्रमहरु हटाउन नेपाल औषधी उत्पादक संघले एपोन केयर्स सुरु गरेको हो । नेपाली औषधी उद्योगहरु विश्वस्तरका मापदण्ड र नियम अनुसार काम गर्दछन्,’ एपोन केयर्सको पहिलो भिडियो सन्देशमा भनिएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ