श्रीमतीको स्तन क्यान्सर उपचार नेपालमै गराएका गायक हेमन्त शर्मा भन्छन्, ‘विदेश जानु नपर्ने रहेछ’

काठमाडौं। गायक हेमन्त शर्माले आफ्नी श्रीमती रितु शर्माको स्तन क्यान्सरको उपचार सफल भएको बताएका छन् । उनले क्यान्सरको उपचारका लागि विदेश जानु नपर्ने र स्वदेशमै गुणस्तरीय उपचार सम्भव रहेको उल्लेख गरेका छन् ।
नेपाल क्यान्सर अस्पतालमा ६ महिना लामो उपचार प्रक्रिया पूरा भएपछि सञ्जालमा स्टाटस लेख्दै उनले उपचारमा सम्लग्न सबै प्रति कृतज्ञता व्यक्त गरेका छन् ।
गत भदौ तेस्रो साता रितुमा स्तन क्यान्सर पुष्टि भएको थियो । त्यसपछि ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा डा. सुदिप श्रेष्ठको नेतृत्वमा उपचार सुरु भएको थियो । ८ पटक किमोथेरापी, डबल मास्टेक्टोमी (दुबै स्तन हटाउने सर्जरी) र १५ पटक रेडिएसन सेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।
क्यान्सर लागेको थाहा भएपछि धेरैले तुरुन्तै दिल्ली जान सुझाव दिए पनि पारिवारिक सल्लाह र नेपालको स्वास्थ्य सेवामाथिको विश्वासका कारण स्वदेशमै उपचार गराउने निर्णय लिएको बताएका छन् ।
भारतीय सेलिब्रेटीहरू समेत उपचारका लागि तेस्रो मुलुक जाने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले मानिसमा ‘आर्थिक विलासिता’का कारण नजिकको भन्दा टाढाको तीर्थ प्यारो लाग्ने प्रवृत्ति देखिएको टिप्पणी समेत गरेका छन् ।
६ महिनाको अवधिमा करिब ८० पटक अस्पताल पुग्नुपरेको र यो यात्राबाट धेरै अनुभव प्राप्त भएको उनको भनाइ छ । हाल उपचारका मुख्य चरणहरू पूरा भएपछि रितुको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही वर्ष नियमित औषधि सेवन तथा फलोअपमा बस्नुपर्ने शर्माले बताएका छन् ।
के लेखे हेमन्तले ?
कैयौं शुभचिन्तकहरूको चासोलाई मध्यनजर गर्दै श्रीमती रीतुको स्वास्थ्य सन्दर्भमा यो दोश्रो तथा सम्भवतः अन्तिम पोष्ट।
भदौको तेस्रो साता Dignosis भएको स्तन क्यान्सरको उपचारको मुख्य चरण (8 Chemo Cycles- A double Mastectomy – 15 Radiation Session) नेपाल क्यान्सर हस्पिटल, ललितपुरमा हालै पुरा भएकोछ।
डा. सुदिप श्रेष्ठको निगरानीमा उँहाको टिमको उपचार निकै संतोषजनक रह्यो।अस्पताललाई भन्दा बिरामीलाई मायॉ गर्ने भनेर चिनिने डा. प्रफुल्ल शाक्य तथा डा. विकाश शाहको उपचारबाट हामी निकै प्रभावित भयौं। Operation का बेला डा. प्रफुल्लको ब्यवहार सधैं सम्झिनेछौ। Radiation तर्फ डा. गिसुप तथा Day Care सहित अस्पतालका सम्पुर्ण कर्मचारी तथा प्रशासनलाई हार्दिक धन्यवाद दिन चाहान्छौ।
सामाजिक संजालमा पहिलो पोष्ट गरे पश्चात संसार भरिबाट परिचित, अपरिचित, सॉंगीतिक, गैरसॉंगीतिक, असंख्य शुभचिन्तक मित्रजनहरूबाट कल, म्यासेज साथै प्रतक्ष्य भेंट पनि प्राप्त भयो। रोगको बारेमा कैयौं अनुभवीको जानकारीले हामीलाई ठुलो ढाडस् मिल्यो। तेस्कालागि हामी यहॉहरू सबै प्रति निकै आभारी छौ🙏🙏
शुरूका दिनमा प्रतक्ष्य वा अप्रत्यक्ष भेटिने हर कोहिले हामीलाई भन्ने प्राय एउटै वाक्य थियो “तुरून्तै दिल्ली गईहाल्नु है”।
यसै प्रकारको रोगका उपचारका निम्ति भारतीय सेलिब्रिटीहरूले, भारतीय अस्पताललाई छाडेर दुबई तथा न्युयोर्क गएको पनि निकै सुनिरहिएकोहुन्थ्यो। “मान्छेलाई Financial Luxury ले पनि नजिकको तिर्थ भन्दा टाढाको तिर्थ प्यारो गराउँदोरैछ” भन्नी पनि लाग्यो।
साथ साथै पारिवारिक सल्लाह, नेपालमा स्तन क्यान्सर उपचारको राम्रो सुविधाको विश्वास, आफ्ना आन्तरिक सबै कुरा, मध्यनजर गरेर हामीले उपचारका लागि आफ्नै देश नेपाल नै रोज्यौ।
पाटन हस्पिटलका क्यान्सर विशेषज्ञ डा. अरूण शाही तथा काठमान्डौ क्यान्सर सेन्टरका डा. आविश अधिकारीसँग शुरूवाती चरणमा लिएको परामर्श पनि निकै महत्वपूर्ण रह्यो। उँहा दुवैलाई पनि धेरै धेरै धन्यबाद🙏🙏
यो ६ महिनाको दौरान, एउटै हस्पिटल करिब ८० पटक पुग्नुपर्दा धेरै बिरामीहरूसँग पनि चिनाजान भयो।धेरै सम्झना छन्। उँहाहरूलाई पनि Miss गर्न थालेका छौ।
बानी नै रैछ जिन्दगी। जे कुराको पनि बानी पर्दै जॉदोरैछ। सुख होस या दुख, सबै सामान्य लाग्नथाल्दोरैछ।
स्वभाविक शारीरिक असुविधा, बेलाबेला Hospital को Follow Up, बर्षौ औषधी सेवन गर्नुपर्ने अवश्थाका बावजूद अब आफुलाई एक किसिमले निको भएको मानेका छौ।
हामी प्रति देखाउनु भएको सदासयताका लागि हामी दुई सबै शुभचिन्तक प्रति फेरि पनि आभार ब्यक्त गर्दै हजुरहरू सबैको आरोग्यताको कामना गर्दछौ।शुभ दिन🙏🙏
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ