नेपाललाई अत्यावश्यक औषधीमा आत्मनिर्भर बनाउन नीतिगत सुधार आवश्यक : सरोकारवाला

104
Shares

काठमाडौँ, २६ फागुन । नेपाललाई अत्यावश्यक औषधीमा आत्मनिर्भर बनाउन नीतिगत सुधारसहित सरकार, निजी क्षेत्र र सरोकारवालाको समन्वयात्मक पहल आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र औषधीमामा आत्मनिर्भरता विषयमा नीतिगत सवाल’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले औषधी ऐन संशोधन, स्वदेशी उद्योगलाई प्रोत्साहन र गुणस्तर सुनिश्चिततामा ध्यान दिनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा भर्खरै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित डा तोसिमा कार्कीले अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारको प्राथमिकता केन्द्रित हुनुपर्ने बताईन । औषधी महँगो भएका कारण प्रत्येक वर्ष करिब पाँच लाख मानिस गरिबीको रेखामुनि झर्ने अवस्था रहेको उल्लेख गर्दै उनले प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्ने बताईन । उनले आगामी सरकारले जनताको स्वास्थ्य उपचारलाई प्रमुख प्राथमिकतामा राख्ने भन्दै औषधी ऐन संशोधन गरेर नेपाली औषधी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिईन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले औषधी ऐन २०३५ संशोधन गरी स्वदेशी औषधी उद्योगमैत्री बनाउनुपर्ने बताए । स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध गराइने औषधीमा सकेसम्म स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। स्वदेशी औषधिको खपत बढे मुलुकको अर्थतन्त्र समेत सुदृढ हुने उनले उल्लेख गरे ।

राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले औषधीको गुणस्तर सुनिश्चितताका लागि विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिए । उनले दिगो विकास लक्ष्यअनुसार औषधि क्षेत्रका नीतिगत व्यवस्था समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।

नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रवलजंग पाण्डेले नीतिगत सुधारमार्फत औषधी उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्न सकिने बताए । प्राविधिक सीप विकास र वैदेशिक मुद्रामा कारोबार गर्न सहज वातावरण बने धेरै उपलब्धि हासिल गर्न सकिने उनको धारणा थियो ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा दिपेन्द्र पाण्डेले जेनेरिक औषधी उत्पादनका लागि सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कच्चापदार्थमा कर छुट तथा उत्पादन प्रक्रिया र गुणस्तर परीक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

औषधी व्यवस्था विभागका प्रमुख औषधी व्यवस्थापक शिवानी खड्गीले अहिलेसम्म राजनीतिक अस्थिरताका कारण स्वदेशी औषधी उद्योगमैत्री औषधि ऐन बन्न नसकेको भन्दै अब बन्ने नयाँ सरकारले यस तर्फ ध्यान दिने आशा व्यक्त गरिन । उनले स्वदेशी औषधी उद्योगलाई प्रोत्साहन गर्न विभागले विभिन्न क्रियाकलाप गरिरहेको समेत दावी गरिन ।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको औषधी ऐन आयातमुखी भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले औषधी ऐन स्वदेशी उद्योगमैत्री बने पाँच वर्षभित्र नेपाललाई औषधिमा ८० प्रतिशतसम्म आत्मनिर्भर बनाउन सकिने उनको दावी थियो ।

कार्यक्रममा एपोनका पूर्वअध्यक्ष दीपक दाहालले सरकारले स्वदेशी औषधीलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रम स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेको अध्यक्षतामा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *