भारतमा बिरामी बोकेको एयर एम्बुलेन्स दुर्घटना, बिरामी र चिकित्सकसहित सात जनाको मृत्यु

60
Shares

नयाँ दिल्ली । भारतको झारखण्डमा बिरामी लिएर उडेको एयर एम्बुलेन्स दुर्घटना हुँदा बिरामी, एक चिकित्सक सहित विमानमा सवार सबै सात जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी एजेभी) विमान दुर्घटना भएको हो।

विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।

कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरेपछि मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो।

कोलकातासँग सम्पर्क टुटेपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षण गर्दा अन्तिम रडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको बताइएको छ।

मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।

सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

रेडबर्ड एयरवेज सन् २०१८ मा उद्यमी अक्षय कुमारले स्थापना गरेको कम्पनी हो।

यसले सन् २०१९ अगस्टमा चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडानका लागि अनुमति पाएको थियो।

कम्पनीले २४ सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *