निर्वाचन आयोगलाई स्वास्थ्य मन्त्रालयले भन्यो, ‘यसपटक निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउनु’

काठमाडौँ, ८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मीहरुलाई नखटाउन निर्वाचन आयोग समक्ष पत्राचार गरेको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामै व्यस्त हुनुपर्ने र चुनावको बेलामा झन् बढी तयारीका साथ बस्नु पर्ने भएकोले यसपटकको निर्वाचन कार्यका लागि नखटाउन भनेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका निर्वाचनमा स्थानीय तहका खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्वाचन प्रयोजनका लागि खटाउने गरेको र त्यसले आकस्मिक तथा नियमित उपचारमा असर गरेको निस्कर्ष निकालेर निर्वाचन आयोगलाई अनुरोध गरेको बताए ।
उनले भने, ‘निर्वाचनका लागि निजामती सेवाका कर्मचारीहरु हुनुहुन्छ । शिक्षकहरु हुनुहुन्छ । उहाँहरुलाई अधिकतम प्रयोग गरियोस । स्वास्थ्यकर्मीहरु त निर्वाचनका बेला झन् तयारी अवस्थामा बस्नु पर्छ । त्यसैले निर्वाचनमा नखटाइयोस भन्ने हाम्रो अनुरोध छ ।’
डा. बुढाथोकीले निर्वाचनमा खटाउनै पर्ने अवस्था आएमा विकल्प तयार गरेर मात्रै खटाउन समेत भनेको बताए । ‘स्वास्थ्य सेवा रोकिन भएन, निर्वाचनमा हुन सक्ने सम्भावित झड्पलाई लिएर स्वास्थ्यकर्मीहरु अझ् बढी चनाखो भएर बस्नु पर्ने अवस्था छ । त्यसैले यसपटक निर्वाचनमा नखटाउन भनिएको हो,’ उनले थपे ।
मन्त्रालयले निर्वाचन लक्षीत अन्य पूर्व तयारीहरु पनि थालेको बताएको छ । मन्त्रालय अन्तर्गतको एचईओसीले इमरजेन्सी टिम, हव तथा सेटलाइट अस्पताल, एम्बुलेन्स नेटवर्क, रेपिड रेस्पोन्स टिमहरु प्रत्येक स्थानीय तहबाट समेत परिचालन हुने गरी सक्रिय बनाइएको समेत डा. बुढाथोकीले जनाए ।
उनले सम्भावित झडपबाट हुन सक्ने चोटपटक र त्यसका लागि उपचारका लागि चाहिने जनशक्ति तथा औषधीहरुको आवश्यक व्यवस्थापन समेत भइरहेको बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ