यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीको १०० बुँदे बाचा पत्रमा उल्लेखित स्वास्थ्यका आठ बुँदा

सुर्खेत, ७ फागुन । आगामी २१ फागुनको निर्वाचनका लागि प्रचार प्रशार अभियानलाई तिब्रता दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको छ।
वीरेन्द्रनगरमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्। बाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । कुल १०० बुँदाको बाचा पत्रमा स्वास्थ्य सम्वन्धी आठ बुँदा समावेश छन् ।
यी हुन रास्वपाको बाचा पत्रमा उल्लेखित स्वास्थ्यका आठ बुँदा:
१. देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्युनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि
आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू
गर्नेछौं। भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा
स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्नेछौं । साथै देशभरका स्वास्थ्यकर्मीहरुलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खड़ा गर्नेछौं, जसले गर्दा दुर्गम ठाऊमा खटेका स्वास्थ्यकर्मीहरुलाई एक्लो तथा पृथक महसुस हुनेछैन।
२. स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं । स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य वीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउनेछौं।
३. क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखी भन्दा रोकथाम मुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौं। विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्ने भन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौं।
४. प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टिकृत स्रोत केन्द्र’ स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गर्नेछौं।
५. वि.सं. २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक र राष्ट्रिय भारलाई न्यून बिन्दुमा झार्नेछौं ।
अपाङ्गता पुनर्स्थापनकालागि ‘प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप’ प्रर्णालीलाई तल्लो तहका स्वास्थ्य संस्थासम्म विस्तार गरिनेछ ।
बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण, दृष्टीसम्बन्धि र अन्य न्युरो- डेभलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि
स्थानीय तहका स्वास्थ्य डेस्कहरूलाई अत्याधुनिक ‘अर्ली स्क्रिनिङ’ औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइनेछ। जन्मनासाथ वा प्रारम्भिक बाल्यकालमै पहिचान गरी प्रभावकारी पुनर्स्थापना र थेरापी सेवा सुनिश्चित गरिनेछ, जसले गर्दा अपाङ्गतालाई जटिल हुनबाट रोकी व्यक्तिलाई आत्मनिर्भर र उत्पादनशील नागरिकका रुपमा विकास गर्नेछौँ ।
६. रोगको रोकथाम, मानसिक स्वास्थ्य
सुदृढीकरण र समग्र जीवनशैली सुधारका लागि विद्यालय, समुदाय तथा स्वास्थ्य
संस्थामार्फत योग र ध्यान कार्यक्रम सञ्चालन गर्नेछौं। साथै, वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्नेछौं।
७. जलन पीडितहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न ‘जलन उपचार कोष’ को स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्नेछौं।
८. मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुऱ्याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्नेछौं र प्राथमिक
स्वास्थ्य सेवा प्रवाहमा ‘मानसिक प्राथमिक उपचार’ सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था सहित २४ सै घण्टा
सञ्चालन हुने राष्ट्रिय हेल्पलाइन मार्फत सेवा प्रवाह गर्नेछौं।
बाचा पत्रको पूर्णपाठ:
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ