श्वासप्रश्वास रोगको विशेषज्ञ उपचार सेवा दिन ललितपुरमा खुल्यो नेशनल चेष्ट सेन्टर

36
Shares

ललितपुर, २ फागुन । श्वासप्रश्वास (छाती) सम्वन्धी रोगको विशेषज्ञ उपचार सेवा दिने योजनाका साथ ललितपुरको मानभवनमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा ल्याइएको छ ।

शनिबार एक समारोहकाबीच लतिलपुर महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष गणेश केसीले सेन्टरको शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै केसीले विशेषज्ञ क्लिनिकले वडावासीको स्वास्थ्यका लागि थप राहत दिने बताए । उनले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्यको आवश्यकता रहेको भन्दै सर्वसुलभ दरमा उपलव्ध गराउन समेत आग्रह गरे ।

नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसुदन घिमिरेले बढ्दो क्रममा रहेको श्वासप्रश्वासका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय सेवा उपलव्ध गराउने गरी क्लिनिक खोलिएको बताए । उनले अहिलेसम्म अन्य रोगका विशेषज्ञ सेवाका लागि क्लिनिक तथा अस्पतालहरु खुले पनि छाती रोगका लागि काठमाडौँ उपत्यकामै खुलेको पहिलो क्लिनिक भएको दावी गरे ।

‘सवारी साधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला फोहर दहन जस्ता कारणहरूले वायु प्रदूषणको स्तर उच्च बनाएको छ । वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले दम, सिओपीडी, फोक्सोको क्यान्सर तथा मुटुरोगसमेत निम्त्याउने जोखिम बढाउँछ । श्वासप्रश्वास रोग बढ्नुको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो। यी सबैका कारण श्वासप्रश्वास सम्वन्धी रोग बढ्दो क्रममा छ । त्यसलाई नियन्त्रणका साथै सही विशेषज्ञ सेवा सहज रुपमा उपलव्ध गराउन यो क्लिनिक आएको हो,’ घिमिरेले भने ।

कार्यक्रममा छातीरोग विशेषज्ञ डा राजु पंगेनीले विभिन्न रोगका विशेषज्ञ क्लिनिक भए जस्तै यसपटक श्वासप्रश्वास तथा छाती रोग सम्बन्धी क्लिनिक सञ्चालनमा आएको बताए ।

‘विश्वमा बार्षिक ४० करोड दम रोगबाट ग्रतिस छन् । बार्षिक ३० देखि ४० लाख यसका कारण मृत्यु वरण गर्दछन् । अझ ९० प्रतिशत ग्रसितहरु हाम्रो जस्तो विकासोन्मुख मुलुकका नागरिक हुन् । समयमै रोगको पहिचान र उचित उपचार नपाएका कारण हजारौँ नेपालीले ज्यान गुमाउनु परेको छ । यस सेन्टरले थोरै भए पनि त्यसमा राहत दिने छ,’ डा. पंगेनीले भने ।

सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने बताइएको छ ।

सेन्टरमा के के सेवा उपलव्ध छन् ?

१, फोक्सोको कार्यक्षमता परीक्षण (पीएफटी)
२, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा
३. एलर्जी तथा दमको परीक्षण सम्बन्धि सेवा
४. सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको समग्र उपचार
५. कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक
६. धूम्रपान त्याग परामर्श सेवा
७. विशेषज्ञ परामर्शसहित नियमित फलोअप
८. अत्याधुनिक स्तरको प्रयोगशाला सुविधा
९. बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन
१०. बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा दिएको छ । जसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *