बागमतीको एचपीभी खोप शुभारम्भ महालक्ष्मी नगरपालिकाको महालक्ष्मी माविबाट

28
Shares

काठमाडौँ, २५ माघ । पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सरकारले सुरु गरेको यसवर्षको एचपीभी खोप कार्यक्रमको पहिलो दिन आज ललितपुरको महालक्ष्मी नगरपालिकाबाट शुभारम्भ भएको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आज महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित महालक्ष्मी माविमा पुगी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रम शुभारम्भ पछि स्वास्थ्यकर्मीहरुले त्यहाँ कक्षा ६ मा अध्ययन्रत किशोरीहरुलाई खोप दिन सुरु गरेका थिए ।

नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखा प्रमुख डा अभियान गौतम, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानासहित स्वास्थ्यकर्मी, स्वयंसेविका तथा शिक्षक विद्यार्थीहरुको सहभागिता थियो । सो अवसरमा एचपीभी खोपको महत्व , यसको प्रभावकारिता तथा किशोरीहरुको स्वास्थ्य संरक्षणमा यसको आवश्यकताबारे जानकारी दिईएको थियो ।

नगरपालिकाका सीअहेव नोर्बुफुर्पा दोर्जेका अनुसार महालक्ष्मीमा १ हजार ३२२ जना छात्राहरुलाई खोप दिईनेछ । त्यसका लागि नगर भित्र ५३ वटा विद्यालयमा खोप केन्द्र राखिएको छ ।

गत वर्ष भने सो पालिकामा ४ हजार ७९६ जना किशोरीले एचपीभी खोप पाएका थिए ।

यसैबीच नगरपालिकाले २८ माघका दिन १० वटै वडाका स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने कार्यक्रम राखेको छ ।

सोही कार्यक्रम अन्तर्गत ३० वर्ष माथिका महिलाहरुको एचपीभी डिएनए टेष्ट गर्ने र त्यसका लागि स्वाव संकलन गरी बागमतीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *