काठमाडौँमा बढ्यो वायु प्रदूषण, नेपाल सातौँ स्थानमा सूचीकृत

काठमाडौँ, २५ माघ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ।
हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले ९आइबार दिउँसो १ बजेर २५ मिनेट जाँदा०को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १५१ एक्युआई पुगेको छ ।
आज बिहान काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो। अहिले काठमाडौँ प्रदूषणको नवौँ स्थानमा छ।
आज विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।
दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो।
औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार ९क्रस बोर्डर० प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ’, उनले भने, ‘पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ।’
सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिएको बताए।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ।
साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 