देउरानीले दान गरिन् जेठानीलाई कलेजो

76
Shares

काठमाडौँ, २५ माघ । नेपाल मेडिसिटी अस्पतालमा पुनः अर्को सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ४८ वर्षीया गंगा कुमारी थापा कुँवरलाई आफ्नै देउरानी ३७ वर्षीया सुनीता खड्का कुँवरले कलेजो दान गरेकी हुन् ।

गंगा कुमारी थापा कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । अस्पताल आइपुग्दा उनको जन्डिसको मात्रा अत्याधिक बढेकोे थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए ।

नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख प्रा.डा.उमिद कुमार श्रेष्ठका अनुसार चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई लिभर फेलियरको अवस्था आएको थियो । त्यसैले चिकित्सकहरुले उनलाई तुरुन्तै कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए ।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको अवस्था देखिएपछि तत्काल कलेजो प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

सुरुमा उनका दिदी, श्रीमान् तथा बुहारीको परीक्षण गरिएको भएता पनि मिलान हुन सकेन । त्यसपछि उनका देवरानी सुनीता खड्का कुँवरको परीक्षण गर्दा उपयुक्त मिलान भई सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिएको हो ।

कलेजो प्रत्यारोपणपछि दाता सुनीता खड्का कुँवर नेपाल मेडिसिटीमा भर्ना हुनुभएको आठ दिनमा अस्पतालबाट डिस्चार्ज भएकी थिईन । कलेजो प्राप्तकर्ता गंगा कुमारी थापा कुँवर अस्पताल भर्ना हुनुभएको १५ दिनमा स्वस्थ अवस्थामा डिस्चार्ज भएकी छन् । यसरी सफल कलेजो प्रत्यारोपण पश्चात् हाल दुवै फलोअपमा रहेका छन् ।

डा. श्रेष्ठका अनुसार कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस तथा पहिचान नभएका अन्य रोगहरूले पनि गम्भीर क्षति पुर्याउन सक्ने बताउनु भएको छ । फ्याटी लिभर (कलेजोमा बोसो जम्ने प्रक्रिया) ले पनि समयमै उपचार नगराईएमा कलेजो बिगार्न सक्ने भएकाले रोगको प्रारम्भिक पहिचान द्धारा गम्भीर क्षतिबाट कलेजोलाई जोगाउन सकिने उनको भनाइ छ ।

यस कलोजो प्रत्यारोपण शल्यक्रियामा नेपाल मेडिसिटी अस्पतालको कलेजो प्रत्यारोपण सर्जन, हेपाटोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर, नर्सिङ र फिजियोथेरापी, कार्डियोलोजी, पल्मोनोलोजी सहित बहुविषयक चिकित्सकीय टोलीको महत्वपूर्ण भूमिका रहेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *