एचपीभी खोप कार्यक्रम : महालक्ष्मीमा आजबाट, ललितपुर महानगरमा भोली र काठमाडौँ महानगरमा पर्सीबाट सुरु हुँदै

28
Shares

काठमाडौँ, २५ माघ । पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई रोक्न सरकारले आजबाट यसवर्षको एचपीभी खोप कार्यक्रम प्रारम्भ गर्दैछ । काठमाडौँ उपत्यकामा पनि खोपको शुभारम्भ आजैबाट हुँदैछ । यद्धपी स्थानीय पालिकाहरुले शुभारम्भको मिति आफ्नो अनुकुल समय मिलाएर तोकेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले आजैबाट खोप सञ्चालन गर्दैछ । महानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी नोर्बु तामाङका अनुसार आज लुभुस्थित महालक्ष्मी माविबाट खोप कार्यक्रमको औपचारिक शुभारम्भ गरिनेछ । सो कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतम लगायतका अधिकारीहरु पुगेर खोप कार्यक्रमको आरम्भ गर्नेछन् ।
ललितपुरकै ठूलो स्थानीय तह ललितपुर महानगरपालिकामा खोप कार्यक्रम भोलि (सोमबार)बाट सञ्चालन हुने बताइएको छ ।
यता काठमाडौँ महानगरपालिकामा खोप कार्यक्रम २७ माघ अर्थात पर्सी देखि सञ्चालन हुने जनाइएको छ ।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले यसपटक महानगरभित्र खोप पाउने उमेर समूहका किशोरीहरुको संख्या ९ हजार ११३ जना रहेको जानकारी दिदै तोकिएको समयमा खोप कार्यक्रम सम्पन्न गर्ने जानकारी दिए ।

नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

नेपालमा औसतमा हरेक दिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको संक्रमण हुने गरेको छ भने ४ जना महिलाको यस रोगका कारण ज्यान जाने गरेको छ।

यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ ।

एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरू (सेरोटाइप) हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छन् । अझ् यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक मानिन्छन् ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।

यसपटक नियमित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा कुनै कारणबस विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप दिईंदैछ ।

खोप शाखा प्रमुख डा अभियान गौतम भन्छन्, यदि गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा खोप लगाउन छुटेका कोही छन् भने हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि यो वर्ष अन्तिम मौकाका रूपमा एचपीभी खोप दिईने बताइएको छ ।

यसपटक पनि चीनमा उत्पादित सेकोलिन ब्राण्डको खोप दिईदै छ । यो खोप किशोरीहरुलाई एक मात्रा दिईने छ । एक मात्रालाई नै पूर्णमात्रा मानिन्छ ।
गत वर्षको अभियानमा एचपीभी खोप लगाइसकेका किशोरीहरूले यो वर्ष खोप लगाउनु पर्दैन । खोप पूर्ण सुरक्षित रहेको भन्दै ढुक्कले लगाउन विज्ञहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *