पाटन अस्पतालको स्वास्थ्य बीमाको रकम सरकारले भुक्तानी नगरे महानगरले तिर्छ : मेयर महर्जन

ललितपुर, २३ माघ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्।
शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले संघीय सरकारले बीमाको भुक्तानी नगरे महानगर आफैँले ब्यहोर्ने बताएका हुन् ।
उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या हुन नदिने बताउदै भने- पाटन अस्पतालकै सुझाव र सल्लाह बमोजिमको फ्यासालिटीहरु इन्स्टल गरेको एउटा अर्को स्वास्थ्य केन्द्र बनाइरहेका छौँ । निकट भविष्यमै खोल्न गइरहेका छौँ । त्यो खोलिसकेपछिको अवस्थामा राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले धेरै राम्रो सेवा प्रवाह गर्न सक्छौँ । पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुहोस् । कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला।’
संघीय सरकारले बीमाको शुल्क अस्पताहरुलाई तिर्न नसक्दा सेवा प्रभावित हुन थालेको छ। कतिपय ठूला अस्पतालहरुले बीमा कार्यक्रम नै बन्द गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमको रकम सुनिश्चित नभएपछि यस अघि दिदै आएको एक लाखसम्मको सीमालाई घटाएर फागुन १ गतेदेखि २५ हजार रुपैयाँ राख्ने निर्णय गरेको छ ।।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 