चितवनका ६ हजार बढी बालिकाहरुलाई एचपीभी खोप

चितवन, २१ माघ । चितवन जिल्लाका ६ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ ।

यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ ।

उनले भने, “खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ”, १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो ।

कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उनले बताए । माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उनले बताए ।

खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो ।

घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो ।

उनले भने, “हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा गएर खोप दिने योजना छ । जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन ।” अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अङ्कित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताए ।

यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उनीहरुले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *