विश्वभरका १० मध्ये चार क्यान्सर रोक्न सकिने : डब्लुएचओ-आईएआरसी
सुर्तीजन्य पदार्थ क्यान्सर गराउने प्रमुख कारण

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र यसको क्यान्सर अनुसन्धान निकाय अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) ले गरेको नयाँ विश्वव्यापी अध्ययनले क्यान्सरका करिब ४० प्रतिशत घटना रोक्न सकिने निष्कर्ष निकालेको छ।
विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरिएको नयाँ अध्ययन प्रतिवेदन अनुसार सन् २०२२ मा विश्वभर देखिएका ३७ प्रतिशत नयाँ क्यान्सरका घटना (करिब ७१ लाख) रोकथाम गर्न सकिने कारणहरूसँग सम्बन्धित थिए । यसले क्यान्सरको विश्वव्यापी बोझ घटाउन रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारेको छ।
अध्ययनले क्यान्सर निम्त्याउने ३० वटा रोक्न सकिने जोखिमकारक तत्व पहिचान गरेको छ।
यसमा सुर्तीजन्य पदार्थ, मदिरा सेवन, अत्यधिक तौल, शारीरिक निष्क्रियता, वायु प्रदूषण, पराबैंगनी किरण तथा पहिलोपटक समावेश गरिएका ९ प्रकारका क्यान्सर गराउने संक्रमण छन्।
सुर्तीजन्य पदार्थ क्यान्सर गराउने प्रमुख कारण
आईएआरसीका अनुसार १८५ देश र ३६ प्रकारका क्यान्सरको तथ्यांक विश्लेषण गर्दा सुर्तीजन्य पदार्थ क्यान्सर सबैभन्दा ठूलो कारण भएको पाइएको छ ।
अध्ययनले क्यान्सर रोग लाग्न नदिनका लागि सबैभन्दा ठूलो रोक्न सकिने कारणमा पनि सुर्तीजन्य पदार्थको प्रयोग रोकथामलाई लिएको छ ।
हुन पनि यसको प्रयोगले विश्वभर १५ प्रतिशत नयाँ क्यान्सर निम्त्याए अध्ययनले जनाएको छ । त्यसपछि क्यान्सर गराउने महत्वपूर्ण कारणहरुमा संक्रमण (१० प्रतिशत) र मदिरा सेवन (३ प्रतिशत) रहेका छन्।
फोक्सो, पेट र पाठेघरको मुख (सर्भाइकल) क्यान्सरको तथ्यांक हेर्दा विश्वभरका झन्डै आधा रोक्न सकिने क्यान्सरहरु रहेको अध्ययनले जनाएको छ ।
कुन क्यान्सरको के सँग सम्वन्ध ?
- फोक्सोको क्यान्सर धूम्रपान र वायु प्रदूषणसँग
- पेटको क्यान्सर हेलिकोब्याक्टर पाइलोरी जीवाणुसँग
- पाठेघरको मुखको क्यान्सर प्रायः ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमणसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ।
पुरुषमा जोखिम बढी
अध्ययन अनुसार रोक्न सकिने क्यान्सरको भार महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । पुरुषमा ४५ प्रतिशत यसको जोखिम हुँदा महिलामा ३० प्रतिशत क्यान्सर रोक्न सकिने कारणले हुने गरेका छन्।
पुरुषमा क्यान्सर लाग्नुको मुख्य कारण धूम्रपान (२३ प्रतिशत), संक्रमण (९ प्रतिशत) र मदिरा सेवन (४ प्रतिशत) हुन्। महिलामा भने संक्रमण (११ प्रतिशत), धूम्रपान (६ प्रतिशत) र अत्यधिक तौल (३ प्रतिशत) प्रमुख कारण रहेको पाइएको छ ।
क्षेत्रगत रूपमा ठूलो असमानता
रोक्न सकिने क्यान्सरको अवस्था क्षेत्र अनुसार निकै फरक देखिएको छ।
- महिलामा उत्तर अफ्रिका तथा पश्चिम एसियामा २४ प्रतिशत
- सहारा मरुभूमी मुनि अर्थात दक्षिण अफ्रिकी क्षेत्रमा ३८ प्रतिशत
- पुरुषमा पूर्वी एसियामा सबैभन्दा बढी ५७ प्रतिशत
- ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा सबैभन्दा कम २८ प्रतिशत रहेको छ।
यी फरक अवस्था जीवनशैली, वातावरणीय जोखिम, संक्रमण, आर्थिक अवस्था, नीति तथा स्वास्थ्य प्रणालीको क्षमतासँग सम्बन्धित रहेको अध्ययनले जनाएको छ।
रोकथाममा लगानी अपरिहार्य
डब्लुएचओका क्यान्सर नियन्त्रण टोली प्रमुख डा। आन्द्रे इल्बावी भन्छन्, ‘क्यान्सरको ठूलो हिस्सा हामीले रोक्न सक्ने कारणबाट हुन्छ । देश र समुदायअनुसार लक्षित नीति र कार्यक्रमले लाखौँ क्यान्सरका घटना रोक्न सकिन्छ।’
आईएआरसीकी उपप्रमुख डा. इसाबेल सोएरजोमातारामका अनुसार, ‘सुर्ती नियन्त्रण, मदिरा नियमन, खोप कार्यक्रम, स्वच्छ हावा, सुरक्षित कार्यस्थल र स्वस्थ जीवनशैलीमा लगानी गर्नु क्यान्सर नियन्त्रणको सबैभन्दा शक्तिशाली उपाय हो।’
स्वास्थ्य, शिक्षा, ऊर्जा, यातायात र श्रम क्षेत्रबीच समन्वय गरी काम गर्न सके क्यान्सरको बोझ मात्र होइन, दीर्घकालीन स्वास्थ्य खर्च पनि घटाउन सकिने डब्लुएचओले जनाएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 