७० वर्ष माथिका जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घर घरमै पुर्याँउदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगर पालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम अघि बढाएको छ । सो कार्यक्रम अन्तर्गत आजबाट महानगरका स्वास्थ्यकर्मीहरु उनीहरुको घरमै पुगेर स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरु गर्ने छन् ।
महानगरले सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालीमसंगै स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधी र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन उपलव्ध गराईसकेको जनाएको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिएको बताए । उनले घर घर जाने नर्सिङ स्टाफलाई स्वास्थ्य जाँच गर्न ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेटको लगबुक, तथ्याङ्क भर्ने ट्याब्लेट दिइएको जानकारी दिए ।
स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेजm क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट पनि जेष्ठ नागरिकको सर्वेक्षणका लागि जाने नर्सिङ प्रतिनिधिसंग रहने छ । साथ साथै उनीहरुले सिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधी समेत लिएर जाने छन् ।
नर्सिङ प्रतिनिधिहरुले यो सेवामा औषधी व्यवस्थापन र पोषणबारे परामर्श गर्नेछन् । यस्तै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ । दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ । कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख केसीले भने । उनले सर्वेक्षणबाट संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने समेत बताए ।
यसैबीच सर्वेक्षणका लागि घर घर जाने स्वास्थ्यकर्मीहरुलाई शुभकामना दिने क्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ उनले कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुमा जोड दिँदै भनिन्, ‘आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नु ।’
‘बदलिँदो सामाजिक परिवेशले सन्तान विदेशमा र आमाबुबा स्वदेशमा भएको अवस्था छ । काठमाडौँमा भएका आमाबुबाको स्वास्थ्य अवस्था, कागजमा लेखेको अक्षर पढेका भरमा वास्तविकता थाहा नहुन सक्छ । आमाबुबाले सही कुरा नसुनाउन सक्नुहुन्छ । परामर्शमा भनिएका कुरा कागजमा हुँदैनन् । यसकारण उहाँहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेलि मेडिसिन प्रणाली बनाउँदैछौँ ’ उनले भनिन्, ‘आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ । महानगरपालिकाको सन्देश नागरिकलाई प्रत्याभूति गराउनुहोला ।’
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको हो ।
कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठले भनिन्, ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गर्नेछौँ । उहाँहरुसँग ज्येष्ठ नागरिक रहनु भएको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ । यो सहयोग पाउने आशा गरेका छौँ ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 