नेपाली बिरामीको उपचार अनुभव बाँढ्न म्याक्सका विशेषज्ञ डाक्टर काठमाडौँमा

काठमाडौँ, १७ माघ । ‘एडभान्स’ उपचारका लागि भनेर होस या अन्य जे सुकै कारण, अहिले पनि ठूलो संख्यामा नेपाली बिरामीहरु उपचारका लागि भारत जाने गर्दछन् ।
यस्तै बेला बखतमा भारतका ठूला अस्पतालका विशेषज्ञ चिकित्सकहरु नेपालमा आउने र आफ्ना अस्पतालमा भएका उपचार सेवा तथा गरेका उपचार अनुभव बताउने गर्दछन् ।
सोही क्रमलाई, शुक्रबार काठमाडौँमा भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेस्यालिटी अस्पतालका विशेषज्ञ चिकित्सक डा विवेक मंगलाले निरन्तरता दिए ।
ग्योस्ट्रोइन्टेस्टाइनल हेपाटोप्यान्क्रियाटोबिलियरी सर्जिकल अंकोलोजीका प्रमुख निर्देशक समेत रहेका डा. मंगलाले नेपालबाट गएका दुई बिरामीको जटिल सर्जरीमा पाएको सफलता सेयर गर्दै आफ्नो अस्पतालमा भित्रिएको नयाँ उपचार प्रविधि र क्षमताबारेमा जानकारी गराए ।
नेपालका जीआई/एचपीवी सर्जनहरुको समेत उपस्थितिमा भएको कार्यक्रममा डा मंगलाले म्याक्स अस्पतालको उपचार क्षमता, पछिल्लो समय सर्जरी क्षेत्रमा भएको विकास क्रमबारेमा समेत बताए । उनले नेपालबाट धेरै बिरामी भारत जाने गरेको र आफ्नो अस्पतालमा नेपाली बिरामीको आउने क्रम बढ्दो भएको भन्दै उपचारमा आइरहेको सफलताले नेपाली बिरामीहरुको रोजाई बनेको समेत दावी गरे ।
सो क्रममा उनले क्यान्सरको पछिल्लो अवस्था, सर्जिकल अंकोलोजीमा पाइने सफलता दरका समेत बताएका थिए । उनले क्यान्सरको जटिल अवस्थालाई म्याक्सका चिकित्सकहरुले कसरी व्यवस्थापन र प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएका छन् भन्ने बारेमा समेत बताए ।
म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेड भारतको सबैभन्दा ठूलो स्वास्थ्य सेवा संस्थाहरुमध्ये एक मानिन्छ । भारतभर २० वटा स्थानमा भएका अस्पताल शाखाहरुमा कुल ५२०० शैय्या रहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 