भारतमा निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरुमा उच्च सतर्कता

काठमाडौँ, ८ माघ । भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरू गरेको हो ।
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।
यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।
मन्त्रालयले सङ्क्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वरेण्टीनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान सबैमा अपील गरेको छ ।
निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यो मुख्यतः फलफूल खाने चमेरोबाट मानिसमा सर्छ ।
नेपालमा अहिलेसम्म निपाहको कुनै सङ्क्रमण पुष्टि भएको छैन । तर भारतको पश्चिम बङ्गालसँगको खुला सीमा र फ्रुट ब्याटको उपस्थितिले जोखिम बढाएको छ ।
सङ्क्रमण भएमा शुरूमा ज्वरो आउने , टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 