प्रतिनिधि सभा निर्वाचन : रास्वपाबाट ललितपुर-३ मा डा. तोसिमा, रुपन्देही -३ मा डा. लेखजंग उम्मेदवार बन्दै

काठमाडौँ, ५ माघ । आगामी २१ फागुनमा हुन गईरहेको निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मेडिकल डाक्टरले टिकट हात पारेका छन् । त्यसरी टिकट हात पार्नेमा डा. तोसिमा कार्की र डा. लेखजंग थापा हुन् ।
डा. कार्की २०७९ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट नै प्रत्यक्ष तर्फको उम्मेदवार बनी निर्वाचित भएकी थिईन । उनी त्यसपछि छोटो समय स्वास्थ्य राज्यमन्त्री समेत बनिन् । उनलाई रास्वपाले पुरानै क्षेत्रमा दोहोर्याएको छ ।
यस्तै अर्का चिकित्सक लेखजंग थापा पेशाले न्युरोलोजिष्ट हुन् । उनले पछिल्लो समय आफूलाई अभियन्ता र सामाजिक व्यक्तित्वको रुपमा पनि चिनाएका छन् ।
भैरहवाका स्थानीयबासी डा. थापालाई गएको १७ कात्तिकमा हुने भनिएको रुपन्देही ३ को उप निर्वाचनकै लागि रास्वपाले उम्मेदवार बनाएको थियो । तर २३ र २४ भदौमा भएको जेनजी विद्रोहले २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन गर्ने अवस्था सिर्जना भएपछि सो उप निर्वाचन रोकिएको थियो ।
डा. थापाले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फर्मेटिभ’का ग्राजुएट्स हुन्।
उनी नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 