‘इन्डियन फार्माकोपिया – २०२६’ सार्वजनिक, १२१ नयाँ औषधि मापदण्ड थप

44
Shares

नयाँ दिल्ली । भारत सरकारले औषधिको गुणस्तर, सुरक्षा र मानकीकरणलाई थप सुदृढ गर्ने उद्देश्यसहित ‘इन्डियन फार्माकोपिया २०२६ सार्वजनिक गरेको छ। यो फार्माकोपियाको १०औँ संस्करण हो ।

गत साता भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नाड्डाले सार्वजनिक गरेको औषधीको नयाँ संस्करणमा १२१ नयाँ मोनोग्राफ समावेश छ ।

नयाँ संस्करणमा औषधी पदार्थ, औषधीका विभिन्न डोज फर्म, भिटामिन, मिनरल, एमिनो एसिड, भ्याक्सिन तथा बायोटेक्नोलोजीबाट बनेका औषधीहरूका विस्तृत मापदण्डहरू समेटिएको बताइएको छ । थपिएको नयाँसंगै अब भारतमा फार्माकोपियामा समावेश कुल मोनोग्राफको संख्या ३ हजार ३४० पुगेको छ।

पछिल्लो संस्करणको विशेषतामा औषधी क्षेत्रमा नयाँ प्रयोगहरु समेत देखिएका छन् । नयाँ फार्माकोपियामा पहिलो पटक रगत तथा रगतका कम्पोनेन्ट सम्बन्धी २० वटा मोनोग्राफ समावेश गरिएका छन् । यसले ट्रान्सफ्युजन मेडिसिन क्षेत्रमा प्रयोग हुने रगत र त्यसका अंशहरूको गुणस्तर, सुरक्षा र परीक्षण प्रक्रियालाई स्पष्ट रूपमा मानकीकरण गर्ने बताइएको छ ।

अधिकारीहरुले यी मापदण्डहरू औषधी तथा कस्मेटिक ऐन अन्तर्गत कानूनी रूपमा लागू हुनेछन्। यसले औषधी उत्पादन, भण्डारण, परीक्षण र वितरण प्रक्रियामा कडाइ ल्याउने र कम गुणस्तरका औषधीहरू नियन्त्रण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

यसैबीच भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री नड्डाले ‘इन्डियन फार्माकोपिया २०२६’ ले भारतको औषधी नियमन प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरअनुसार बलियो बनाउने र बिरामीको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

त्यसो त सरकारी अधिकारीहरुले पछिल्लो कदमले भारतीय औषधी उद्योग, स्वास्थ्य संस्था, चिकित्सक तथा मेडिकल विद्यार्थीहरूलाई पनि अद्यावधिक वैज्ञानिक मापदण्डअनुसार काम गर्न मार्गदर्शन गर्ने दावी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *