दाताबाट प्राप्त क्यान्सरकारक जीनयुक्त शुक्रकीट करिब २०० बच्चा जन्माउनमा प्रयोग भएको खुलासा

बीबीसी । जसले दान गरेका शुक्राणुको प्रयोगबाट युरोपमा जन्मिएका कम्तीमा १९७ जना बच्चाहरूको जन्म भयो ती एकजना दातामा आनुवंशिक उत्परिवर्तन भएको थाहा भएपछि सबै बच्चाहरूमा क्यान्सरको खतरा देखिएको एक बृहत् अनुसन्धानले जनाएको छ।
त्यो प्रक्रियाबाट जन्मिएका केही बच्चाको पहिले नै मृत्यु भइसकेको थाहा भएको छ भने दाताको वंशाणुमा जस्तो उत्परिवर्तन देखियो त्यस्बाट उक्त शुक्राणु प्रयोग भइ जन्मेका बच्चाहरूको सानो सङ्ख्या मात्र उनीहरूको जीवनकालमा क्यान्सरबाट बच्न सक्छन्।
त्यो शुक्राणु यूकेका क्लिनिकहरूमा बेचिएको थिएन तर सानो सङ्ख्यामा ती दाताको शुक्राणु उपयोग गरेका ब्रिटिश परिवारहरूलाई त्यो सूचना दिइएको बीबीसीले पुष्टि गर्न सकेको छ। ती ब्रिटिश महिलाहरूले डेनमार्कमा गएर लिएको ‘फर्टीलिटी’ उपचारमा त्यस्तो शुक्राणुको प्रयोग भएको थियो।
उक्त शुक्राणु बिक्री गरेको डेनमार्कको ‘युरोपियन स्पर्म ब्याङ्क’ ले प्रभावित परिवारप्रति “गहिरो सहानुभूति” व्यक्त गरेको छ र कैयौँ देशहरूमा उक्त शुक्राणु धेरै बच्चा जन्माउनका लागि प्रयोग गरिएको बताएको छ।
यसमाथिको अनुसन्धान बीबीसी लगायत १४ सार्वजनिक हितमा सञ्चालित प्रसारकहरूले युरोपिएन ब्रोडकास्टिङ युनियनको इन्भेस्टिगेटिभ जर्नलिजम् नेटवर्क अन्तर्गत गरेका हुन्।
एक अज्ञात पुरुषलाई विद्यार्थीका रूपमा दान गर्नका लागि पैसा तिरेर सङ्कलन गरिएको शुक्राणुको बारे यो रिपोर्ट हो। उनले सन् २००५ देखि शुक्राणु दान गर्न सुरु गरेका थिए र विभिन्न महिलाहरूले करिब १७ वर्षसम्म उक्त शुक्राणु प्रयोग गर्दै आएका थिए।
उनी स्वस्थ्य छन् र दाताका लागि गरिने विभिन्न परीक्षणमा सफल देखिएका थिए। तर उनका केही कोषको डीएनएमा उनी जन्मनुभन्दा अघि नै आनुवंशिक उत्परिवर्तन भएको थियो।
उत्परिवर्तनले शरीरको TP53 जीनलाई नोक्सान पुर्याएको थियो जसले शरीरको कोशिकाहरूलाई क्यान्सरग्रस्त हुनबाट रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्छ।
दाताको शरीरको अधिकांश भागमा खतरनाक प्रकारको TP53 छैन तर उनको २० प्रतिशत शुक्राणुमा त्यो छ।
यद्यपि प्रभावित शुक्राणुबाट जन्मिने बच्चाको हरेक कोषमा त्यस्तो उत्परिवर्तन हुन्छ।
यसलाई ली फ्रमेनी सीन्ड्रोम भनिन्छ र यसबाट क्यान्सर विकास हुने सम्भावना ९०प्रतिशतसम्म हुन्छ खासगरी बाल्यकालमा र पछि स्तन क्यान्सरका रूपमा।
लन्डनस्थित इन्स्टिट्यूट अफ क्यान्सर रिसर्चमा क्यान्सर जेनेटिसिस्ट प्रोफेसर क्लेयर टर्नबुल भन्छिन्, “यो डरलाग्दो निदान हो। यो परिवारमा पर्ने असाध्यै चुनौतीपूर्ण निदान हो र यसको खतरा छ भन्दै जीवन बिताउनु निश्चित रूपमा जीवनभरको बोझ हो।”
शरीर र मस्तिष्कको एमआरआई स्क्यान र पेटको अल्ट्रासाउन्ड हरेक वर्ष गर्नु पर्छ। महिलाहरूले क्यान्सरको खतरा कम गर्न आफ्ना स्तनहरू काटेर फाल्ने प्रकृया रोज्ने गरेका छन्।
युरोपियन स्पर्म ब्याङकका अनुसार दाता र उनका परिवारका सदस्य बिरामी छैनन्। र त्यस्तो उत्परिवर्तन जेनेटिक स्क्यानिङले पत्ता लगाउन सकेन। उनीहरूका अनुसार दाताको शुक्राणुमा समस्या देखिने बित्तिकै शुक्राणु लिन रोकिएको छ।
बच्चाहरूको मृत्यु भएको छ
शुक्राणु उपयोगसँग जोडिएका बच्चाहरू हेरिरहेका डाक्टरले युरोपियन सोसाइटी अफ ह्युमन जेनेटिक्समा यो वर्ष चिन्ता जाहेर गरेका थिए। .
उनीहरूका अनुसार ६७ बच्चा मध्ये २३ मा त्यो उत्परिवर्तित जीन पाइएको थियो र दशजना बच्चामा क्यान्सर देखिइसकेको थियो।
सूचनाको स्वतन्त्रताको हक सम्बन्धी अनुरोध र डाक्टर तथा बिरामीसँगको अन्तर्वार्ताबाट उक्त दाताबाट थुप्रै बच्चाहरू जन्मिएको हामी भन्न सक्छौँ।
कम्तीमा त्यो शुक्राणुबाट १९७ बच्चा जन्मिएका छन् तर सबै मुलुकबाट तथ्याङ्क प्राप्त नभएकाले यो अन्तिम सङ्ख्या होइन।
र कति बच्चाहरूले त्यो खतरनाक जीन वंशाणुगतरूपमा पाएका छन् भन्ने पनि स्पष्ट छैन।
रुआँ युनिभर्सिटी हस्पिटल फ्रान्समा क्यान्सर जेनेटिसिस्ट डा. एडविज कास्परले त्यसबारे प्रारम्भिक तथ्याङ्क पेस गरेकी थिइन्। उनले अनुसन्धानकर्ताहरूलाई भनिन् – हामीले थाहा पाएका धेरै बच्चाहरूमा क्यान्सर विकास भएको छ।
केही बच्चाहरूमा दुई प्रकारको क्यान्सर पाइएको छ भने केहीको असाध्यै कलिलो उमेरमा मृत्यु भएको छ।
सेलिन (नाम परिवर्तन गरिएको) फ्रान्समा एकल आमा हुन् जसले ती दाताको शुक्राणुबाट १४ वर्ष अघि बच्चा जन्माएकी थिइन् र ती बच्चामा उत्परिवर्तन रहेको निश्चित भएको छ।
उनले बेल्जियमस्थित क्लिनिकमा फर्टिलिटी उपचार गराएकी थिइन्। त्यो क्लिनिकले उनलाई फोन गरेर उनकी छोरीको जाँच गर्न भनेको थियो।
उनले “दाताप्रति कुनै नराम्रो भावना नरहेको” तर आफूलाई “सफा नरहेको, सुरक्षित नरहेको र खतरा रहेको शुक्राणु दिइनु अस्वीकार्य रहेको” बताइन्।
र उनीहरूको बाँकी जीवनमा क्यान्सरको खतरा मडारिइरहने छ भन्ने उनलाई थाहा छ।
“कहिले कस्तो र कतिवटा क्यान्सर हुनेछ भन्ने हामीलाई थाहा छैन,” उनी भन्छिन्।
“यो हुने सम्भावना धेरै छ भन्ने मलाई थाहा छ जब यो हुनेछ, हामी लड्ने छौँ । पटक पटक पर्यो भने त्यति नै पटक लड्ने छौँ।”
सम्पर्क इमेल : [email protected]







