कर्मचारीको कार्यशैली प्रति सन्तुष्ठ छैनन् ‘जेनजी सरकार’की स्वास्थ्य मन्त्री डा. शर्मा
तर, उनको आफ्नै कार्यशैली पनि मिल्दो भने देखिदैन

काठमाडौँ, १२ मंसिर । आफू बाहिरिने बेलामा सबै कर्मचारीहरुलाई उत्कृष्ठ कार्य गरेको भन्दै ‘फ्रेमिङ’सहितको सम्मान पत्र दिने योजना बनाएकी स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्मा पछिल्लो एक महिनामा कर्मचारीको कार्यशैली देखेर दिक्क भईसकेकी छन् ।
शुक्रबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सभा हलमा सुरु भएको राष्ट्रिय सयुक्त बार्षिक समीक्षा गोष्ठी (एनजार)को उद्घाटन मन्तव्य दिने क्रममा सो कुरा खुलासा गरिन् ।
‘तपाईँहरुको चित्त दुख्ला तर मैले मन्त्रीको रुपमा एक महिना मन्त्रालय सम्हाल्दा अपेक्षा अनुरुप कर्मचारी संयन्त्र सुधारिएको पाईन, जेनजीको भावना अनुरुप परिवर्तन हुनु पर्ने जो थियो त्यो अझै हुन सकेको छैन । स्वास्थ्य समूहको सचिव जसको सरुवा नै हुँदैन, मुख्य सचिव बन्न पनि पर्दैन । यति ढुक्कले काम गर्ने अवस्था छ तर नतिजा आएको छैन,’ नम्र गरी कडा शब्दमा गुनासो गरेकी मन्त्री डा. शर्माले त्यस अघि नै आफू छोटो समयका लागि मन्त्री भएको र निस्कँदा सबै स्वास्थ्यकर्मीहरुलाई उत्कृष्ठ कार्य गरेको भन्दै सम्मान गर्ने योजना रहेको सुनाएकी थिईन ।
‘मैले निस्कने बेलामा तपाईँहरुलाई फ्रेमिङ सहितको सम्मान पत्र दिन्छु भन्ने सोचेको थिएँ तर अहिलेसम्मको अवधीमा त्यस्तो काम भएको पाइन ? किन यस्तो ?’ उनले प्रतिप्रश्न गर्दै सोधेकी थिईन ।
उनले सरकारी कर्मचारीलाई मात्रै भनिनन्, दातृ निकायका प्रतिनिधिहरुको कार्यशैली पनि चित्तबुझ्दो नभएको गुनासो गरिन् । दुई चारवटा जिल्ला प्रोजेक्ट चलाएर यस्तो गरेको छु भनेर मात्रै नहुने भन्दै कागजमा भन्दा पनि बास्तविकता नतिजा देखिनु पर्ने बताईन् ।
त्यसो त मन्त्रीले कर्मचारी र दातृ निकायप्रति गुनासो गरे पनि उनी आफैले पनि नयाँ ढंगले काम अघि बढाउन सकेकी छैनन् ।
बाहलवाला कर्मचारी र केही सेवा निबृत्त कर्मचारीहरुलाई राखेर समिति गठन गर्दै अध्ययन् गर्न लगाएको भए पनि त्यसले कागजमा बाहेक ठोस नतिजा नआउने पक्का पक्कै जस्तो देखिएको छ ।
उनले आफ्नो प्राथमिकतामा भन्दै आएको स्वास्थ्य बीमा कार्यक्रम, औषधी क्षेत्र र मेसिन उपकरण खरीदका कामलाई सुधार गर्न जसरी समिति बनाएकी छन् त्यसबाट कागजमा बाहेक अरु नतिजा देखिदैन ।
किनभने यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि यसैगरी समिति बनाएर बनाएका थिए । त्यसबेला बर्तमान मन्त्री डा. शर्मा पौडेलको सल्लाहकार टिममा थिईन् । तर पौडेलले बनाएको कुनै पनि समितिबाट न राम्रो नतिजा आयो न त त्यसको कार्यान्वयन गर्ने बातावरण बन्यो ।
छोटो अवधी तोकिएको र चुनाव गर्ने मुख्य एजेण्डा बोकेर आएको सरकारले अघिल्ला शक्तिशाली सरकारका युवा मन्त्रीले पार लगाउन नसकेको एजेण्डालाई पार लगाउने सक्ने विश्वासिलो आधार देखिएको छैन ।
समीक्षा बैठकलाई सम्वोधन गर्ने क्रममा मन्त्री डा. शर्माले मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य साथै स्वास्थ्यका इन्डिकेटरमा पछाडी परेका ४ वटा प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा आफ्नो प्राथमिकता रहेको बताएकी छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सम्वन्धी केही सन्देश लेखिएका व्यानर टाँगेर र अध्यागनमा लिफलेट राख्ने योजनाले सस्तो लोकप्रियता त हुने भयो तर दीर्घकालिन काम भने हुने छैन ।
सरकारी तथ्यांक अनुसार अहिले पनि दैनिक १९ जना बढी नेपालीले आत्महत्या गरिरहेका छन् । तर त्यसलाई कसरी रोक्ने ? सचेतनाका अभियानमा कसरी अघि बढ्ने भन्ने ठोस योजना अघि सारेको पनि देखिएको छैन ।
अहिले गर्नै पर्ने के हो ?
स्वास्थ्य मन्त्री डा. शर्माले धेरै कामका कुरा गर्न आवश्यक छैन् । किनभने उनले त्यसरी काम गर्ने अहिले बातावरण पनि छैन, समय पनि छैन । गर्नै खोजे जलेको स्वास्थ्य मन्त्रालयसंग पुराना ‘व्याकअप डकुमेन्ट’ पनि छैन ।
त्यसैले उनले केही गरेरै छाड्छु भन्ने हो भने स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरे मात्रै पुग्छ । बीमालाई व्यवस्थित गर्न त्यहाँको ‘आइटी’लाई व्यवस्थित गरे मात्रै पुग्छ । अस्पतालहरुलाई बक्यौँता रकम उपलव्ध गराउने र कडाईँका साथ सम्पूर्ण उपचार सेवालाई प्रभावकारी ढंगले चलाउनका लागि दह्रोसंग अनुगमन गरे पुग्छ ।
किनभने बिमितहरु अस्पतालमा पुग्छन्, तर अधिकांश अस्पतालहरुमा सधै सुनिने बाक्य सर्भर डाउन छ भन्ने हो । यो समस्या बर्षौ देखिको हो । अस्पतालमा परीक्षणका लागि गयो, मेसिन विग्रिएको छ, रिएजेन्ट सकिएको छ । १२ सय बढी सुचीकृत औषधी भए पनि अस्पतालका फार्मेसीमा वीमाका औषधी अधिकांश अभाव हुन्छ । यसले नागरिक ठगिएको ठगियै छन् ।
औषधी क्षेत्र सुधारका लागि पूर्व मन्त्री पौडेलले समिति बनाएकै हुन् । तर सो समिति ‘कुहिरो भित्रको काग’ झै रुमल्लियो । निकै लामो समयसम्म कुहिरोबाट निस्कनै नसके जस्तो भयो । त्यसको नतिजा के आयो हामी सबैलाई जगजाहेर नै छ । अब अहिले समिति बनाए पनि उसले केही प्रतिवेदन त देला तर अहिले नै देखिएको र मन्त्रीले गर्न सक्ने कुरा करारमै सही जनशक्ति थपिदिनु पर्ने आवश्यक छ । सेवाग्राहीका लागि सहज र छिटो सेवाका लागि त्यो आवश्यक छ । साथै अनुगमन र निरीक्षणका लागि पनि जनशक्ति आवश्यक छ ।
मानसिक स्वास्थ्यका लागि उनले सचेतनाका कार्यक्रमहरुमा जोड दिनु पर्ने हो । त्यसका लागि एउटा प्रभावकारी माध्यम मिडिया पनि हो । तर उनी केही सरकारी र गैरसरकारी संस्थाहरुको भरमा अघि बढ्न खोजेकी छन् । यसले उनलाई गतिविधिको संख्यामा त बढोत्तरी होला तर प्रभावकारी नतिजा आउन भने नसक्ने निश्चत छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

