झापामा ३८१ जना बालबालिकामा अटिजम

28
Shares

झापा, १० मंसिर । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् ।

यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ ।

जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ जना बालबालिकामा अजिटमको समस्या छ ।

प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभामा सञ्चालन भएको थियो ।

झापा, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सम्झौताअनुसार गत वर्षदेखि अपाङ्गता पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको संयोजक घिमिरेले जानकारी दिए ।

जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ ।

यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन् ।

भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाले समुदायमा छलफल थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *