नेपाल मधुमेही समाजद्धारा आयोजित निशुल्क स्वास्थ्य जाँच तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

28
Shares

काठमाडौँ, ३० कात्तिक । नेपाल मधुमेही समाजले गत शुक्रबार राजधानीमा बृहत निशुल्क स्वास्थ्य जाँच तथा स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर समाजले ओमबहालस्थित आफ्नै कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविर तथा सचेतनाको कार्यक्रम गरेको हो ।

समाजका अध्यक्ष शिव श्रेष्ठका अनुसार त्यस दिनको शिविरमा २५० बढीले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । शिविरमा व्लड सुगर परीक्षण, ब्लड प्रेसर, अक्सिजन लेभल, मुटुको जाँचमा इको, इसिजी, आँखाको जाँच अन्तर्गत डाइवेटिक रेडियोप्याथी स्क्रिनिङ, डाइवेटिक न्युरोप्याथी स्क्रिनिङ भएको थियो । यस्तै मिर्गौलाको जाँच अन्तर्गत रिनल फङसन टेष्ट (आरएफटी)को समेत जाँच गरिएको थियो ।

यसका लागि वीर अस्पताल, तिलगङ्गा सहित विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।
वीरबाट कार्डियोलोजिष्ट प्राडा प्रमा कोइराला चापागाईँ, यस्तै इन्डोक्राइनोलोजिष्ट डा जस्मिन तुलाधर, जनरल फिजिसिन डा सुनिति शाक्य, तीलगंगाबाट रेटिना स्पेशलिष्ट डा इलि प्रधान, बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डे लगायतको सहभागिता थियो ।

त्यसअघि विहान समाजका सदस्य तथा आम सर्वसाधारण, स्थानीय अगुवा तथा क्लवका सदस्यहरुले मधुमेहबारे बृहत जनचेतनामुलक प्रभावफेरीको आयोजना गरेका थिए । यस्तै मधुमेहको जोखिम तथा यसबाट जोगिने उपायकाबारेमा विज्ञहरुले बताएका थिए ।
कलेजका विद्यार्थीहरु, स्थानीय क्लवका सदस्यहरु तथा स्थानीय आम सर्वसाधारणहरु यस कार्यक्रममा सहभागिता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि नोभेम्बर १४ मा नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाउन थालिएको हो । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा करिब २७ करोड ९० लाख वयस्कहरू मधुमेहबाट ग्रस्त छन्, जुन विश्वको कुल भारको एक तिहाइ हो। ती मध्ये धेरैजसो उपचारको पहुँचबाट टाढा हुनेहरु रहेको बताइन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *