औषधी आयातमा देखिएका समस्या लिएर अर्थमन्त्री खनाललाई भेटन पुगे आयातकर्ता
आयातकर्ताले उठाएका दुबै मागमा अर्थ मन्त्री खनाल सकारात्मक
काठमाडौँ, ३० कात्तिक । नेपाल औषधी आयातकर्ता संघ (मियान)को प्रतिनिधि मण्डलले आइतबार अर्थ मन्त्री रामेश्वरप्रसाद खनालसंग भेट गरी औषधी आयातका सन्दर्भमा देखिएका समस्याका बारेमा अवगत गराएको छ ।
संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले औषधी आयातका क्रममा आयातकर्ताहरुले भोग्नु परेका भन्सारसंग सम्वन्धित नीतिगत विषयमा छलफल गर्दै केही मुख्य विषयमा ध्यानाकर्षण समेत गराएको थियो ।
‘हामीले आज औषधी आयातका सन्दर्भमा मुख्य दुईवटा कुरा उठायौँ । पहिलो औषधी लगायतका सामग्री बाहिरबाट आयात गर्दा खरीद बीललाई बास्तविक मूल्य कायम गरेर जति भन्सार लाग्छ त्यति दिनु पर्ने जो नियम विराटनगर र बीरगञ्जका भन्सार कार्याल्यबाट बर्तमान अर्थमन्त्री खनालले सुरु गर्नु भएको थियो । त्यसको कार्यान्वयन भएको थिएन । त्यसलाई हामीले ध्यानाकर्षण गरायौँ । उहाँले तत्कालै एक्सन लिनु भयो र त्यो समस्या समाधान गरिदिनु भयो । दोस्रो अघिल्ला सरकारले केही औषधी तथा औषधीजन्य सामग्री (कन्ट्रास मिडिया जस्ता)मा जसरी मूल्य अभिबृद्धि कर लगाउने निर्णय गरेको थियो । त्यसको खारेजीका माग हामीले पहिले देखि नै राख्दै आएका थियौ । आज त्यो पनि कुरा उठ्यो र यसलाई पनि छिटै नै प्रक्रिया पुरा गरेर समाधान गर्ने आश्वासन दिनु भएको छ,’ भेटपछि संघका अध्यक्ष आचार्यले भने ।
अर्थ मन्त्री खनालसंग भेट गर्न पुगेका प्रतिनिधि मण्डलमा अध्यक्ष आचार्यसंगै मियानका सल्लाहकार श्रीविन्दुलाल राजभण्डारी, मियान महासचिव मधु पौडेल, कोषाध्यक्ष सन्दीप खनाल, सदस्य सितोस शाह लगायतका व्यवसायीहरु थिए ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
