प्रत्यारोपण विशेषज्ञ डा. पुकारलाई रोयल कलेज अफ सर्जन्स एडिनबर्गको सम्मान

220
Shares

काठमाडौं, २९ कात्तिक । नेपालका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले विशेष उपाधि ‘एफआरसीएस’बाट सम्मान गरेको छ।

बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरी स्वदेश फर्किएका डा. श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र होइन, यसलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सोही योगदानको कदर गर्दै कलेजका अध्यक्ष डा. क्लारे म्याक्नटले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् । सो अवसरमा प्रतिष्ठित स्वास्थ्य विज्ञ तथा कलेजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

हुन पनि बेलायतमा प्रत्यारोपणको अध्ययन तथा अनुभव लिएका डा. श्रेष्ठले नेपाल फर्केपछि वीर अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका थिए ।

पछि प्रत्यारोपणलाई संस्थागत विकास गर्दै अघि बढाउन उनकै अग्रसरतामा भक्तपुरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको थियो ।

उनको नेतृत्वमा देशभर १६०० भन्दा बढी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशतभन्दा बढी सफलताका साथ सम्पन्न भएको छ। यस्तै, नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने ऐतिहासिक काम पनि उनले गरेका छन्।

यस्तै उनले निःशुल्क मृर्गौला प्रत्यारोपण, विभिन्न स्थानमा सेवा विस्तार, प्रत्यारोपण कानून बनाउनका साथै अंगदान र प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ मिर्गौला, ४ कलेजो तथा १ संयुक्त (मिर्गौला–कलेजो) प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। हालसम्म कुल ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छन् । यस्तै अत्यन्त जटिल मानिने तेस्रो पटकको मिर्गौला प्रत्यारोपण तथा ४ वटा धमनी (आर्टरी) रहेको दाताबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नु उनको अर्को उल्लेखनीय उपलब्धि हो।

सन २००० मा एडिनबर्गमै प्रत्यारोपण तालिम सुरु गरेका डा. श्रेष्ठले सोही कलेजको मेम्बरसिप एमआरसीएस उपाधि प्राप्त गरेका हुन्। यस्तै उनले त्यसबेला बेलायतको प्रतिष्ठित फ्रिम्यान अस्पताल लगायतका केन्द्रमा समेत कार्य अनुभव हासिल गरेका थिए।

उनकै नेतृत्व रहेका बेला भक्तपुरको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले देशभरका दुई तिहाइभन्दा बढी मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। प्रत्यारोपण सेवा देशमै स्थापित हुँदा यसका लागि भन्दै हरेक वर्ष विदेशिने झण्डै दुई अर्ब रुपैयाँ बचत हुन थालेको पनि बताइन्छ।

हाल सरकारी सेवाबाट अवकाशप्राप्त डा. श्रेष्ठले गैर–नाफामूलक संस्था स्थापना गरेर प्रत्यारोपण सेवालाई अझ सुदृढ बनाउने तथा सर्वसाधारणको पहुँचमा झन् सहज रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *