‘मधुमेह नियन्त्रण र रोकथामका प्रयासलाई तीव्र बनाउँ’
काठमाडौं, २८ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रकी प्रमुख डा. क्याथरिना बोहेमले आफ्नो क्षेत्रका सबै सदस्य राष्ट्रहरुलाई मधुमेह नियन्त्रण र रोकथामका प्रयासलाई तीव्र बनाउन आग्रह गरेकी छिन्।
विश्व मधुमेह दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
डा बोहेमका अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा करिब २७ करोड ९० लाख वयस्कहरू मधुमेहबाट ग्रस्त छन्, जुन विश्वको कुल भारको एक तिहाइ हो। ती मध्ये धेरैजसो उपचारको पहुँचबाट टाढा हुनेहरु रहेका छन् ।
“हाम्रो क्षेत्रमा केवल प्रत्येक तीन मध्ये एक जना मात्र उपचारको पहुँचमा छन् । १५ प्रतिशतभन्दा कमको मात्रै व्लड सुगर नियन्त्रणमा छ,” उनले बताइन्।
विश्व स्वास्थ्य संगठनले यसवर्ष दिवसको नारा ‘जीवनका प्रत्येक चरणमा मधुमेह’ राखेको छ ।
विज्ञप्तीमा डा. बोहेमले बालबालिका, गर्भवती महिला र वृद्धहरू सबैका लागि समग्र र पहुँचयोग्य उपचार प्रणाली आवश्यक रहेको बताएकी छन् । यस्तै उनले सन्तुलित आहार, नियमित शारीरिक क्रियाकलाप र मदिरा–धूम्रपानबाट टाढा रहने बानीले टाइप–२ मधुमेहको जोखिम घटाउन सकिने उल्लेख गरेकी छन् ।
हाल अधिकांश सदस्य राष्ट्रहरूमा प्रमाणमा आधारित औषधि प्रोटोकलहरू लागू गरिएका छन् र ३ करोड ३० लाख भन्दा बढी मधुमेहका बिरामीहरूलाई नियमित उपचारमा समेटिएको डब्ल्यूएचओले जनाएको छ।
डा. बोहेमले अन्त्यमा भनिन्, “सरकार, स्वास्थ्य व्यवसायी, र समुदाय सबैले जीवनका प्रत्येक चरणमा मधुमेहको बोझ घटाउने प्रयासलाई अझ सबल बनाउनुपर्छ।”
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
