वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा भाइरसको एकै पटक परीक्षण

76
Shares

काठमाडौँ, २७ कात्तिक । वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।

अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल आनुवंशिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिईन् ।

उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताईन् ।  “पहिले ती १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ”, उनले भनिन् , “कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।”

उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताईन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिईन् ।

प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।

विसं २०७३ मा आनुवंशिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वंश) मा भएको अवस्थाले जन्मिने रोगलाई आनुवंशिक रोग भनिन्छ ।

“सरकारी रुपमा आनुवंशिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला छ”, उनले भनिन् , “तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि पर्याप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।”

उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा आनुवंशिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *