विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

32
Shares

काठमाडौँ, २८ कात्तिक । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचालित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ ।

महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।

“अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गर्थ्यौ ,” अध्यक्ष राई भने, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”

गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।

शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ ।

मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ ।

गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *