पाँचवर्षे कार्यकाल सकेर विदा हुँदै डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव

नयाँ जिम्मेवारी सम्हाल्न श्रीलंका जाँदै
164
Shares

काठमाडौँ, २६ कात्तिक । सम्भवत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालको प्रमुख बनेर आउनेहरु मध्येका सहज र सलर व्यक्तित्व थिए डा. राजेश सम्भाजीराव पाण्डव । उनै डा. पाण्डव अबको केही दिनमा नेपालबाट विदा हुँदैछन् ।

आगामी ५ मंसिर (२१ नोभेम्बर)मा आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्दै उनी नेपालबाट विदा हुन लागेका हुन । नेपालबाट विदा भएपछि उनी १५ मंसिर (१ डिसेम्बर) देखि डब्लुएचओ श्रीलंका प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न कोलम्बो पुग्नेछन् ।

‘कोभिड- १९ को महामारीले उग्र रुप लिएका बेला उनी २ असोज २०७७ (१८ सेप्टेम्बर २०२०) मा नेपाल प्रमुख बनेर आएका थिए । त्यसअघि डब्लुएचओ नेपालको प्रमुखको रुपमा डा. जोश भेन्डिलियर थिए ।

‘हो, म आफ्नो पदावधि सकेर नेपालबाट विदा हुँदैछु । डब्लुएचओ नेपाल प्रमुखको रुपमा २१ नोभेम्बर मेरो अन्तिम दिन हुनेछ । मेरो नयाँ जिम्मेवारी श्रीलंका तय भईसकेको छ,’ सम्छिप्त कुराकानीमा डा. पाण्डवले जानकारी दिए ।

‘टिमोर लिष्टेमा डब्लुएचओ प्रमुखको रुपमा काम गरेका उनी कोभिड महामारीका बेला नेपाल आएका थिए । तर त्यस असहज अवस्थामा उनले छिटो नेतृत्व दायी भूमिका प्रस्तुत गर्दै कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

खासगरी कोभिडविरुका सामग्रीसंगै खोप उपलव्धताका उनले समन्वयकारी भूमिका खेलेका थिए । स्वास्थ्य सचेतनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बुझेका उनले ढिलाई नगरी स्वास्थ्य पत्रकार मञ्च नेपाल जस्ता पेशागत संस्था सहित देशभरका अन्य सञ्चारमाध्यम र त्यसका प्रतिनिधिहरुसंग छलफल तथा तालीम अघि बढाएका थिए ।

टिमोर लिस्टेमा ‘वाक द टक’ अभियानको शुरुवात गरेका डा. पाण्डवले यो अभियानलाई नेपालमा देशव्यापी बनाउने प्रयास गरे ।

पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह डा पाण्डवलाई आफ्नो कामप्रति प्रतिवद्ध, सहयोगी र कुलशतापूर्वक जिम्मेवारी निभाउन सक्ने अधिकारीको रुपमा चित्रण गर्दछन् ।

‘उनी सहयोगी भाव भएको, कामप्रति प्रतिवद्ध र जिम्मेवार भएको अनि काममा फोकस भएको सरल, मिलनसार र फरासिलो व्यक्ति हुन् । नेपाल सरकारलाई सहयोग गर्न उनी हरदम तयार भए,’ डा. सिंहले भने ।

यस्तै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया डा. पाण्डवलाई आफ्नो जिम्मेवारीलाई प्रष्टसंग बुझेर काममा उतार्ने अधिकारीको रुपमा लिन्छन् ।

‘कोभिड महामारीको बेलामा आएका उनले आफ्नो दायित्वलाई यति प्रभावकारी ढंगले निभाएकी यसले धेरै नेपालीको ज्यान बचाउन सहयोग पुगेको छ । उनी यहाँ मात्रै होईन, टिमोर लिष्टे र मालदिव्समा रहँदा पनि यसैगरी काम गरेका रहेछन् । नेपालमा आउने अन्तराष्ट्रिय प्रतिनिधिले नेपालीको भाव बुझेर यति सहज ढंगले विरलै काम गरेको देख्न पाईन्छ,’ प्रशंसा गर्दै उनले भने ।

डा. पाण्डवको डब्लुएचओ यात्रा

नेपाल आउनु अघि पाण्डव अप्रिल २०१५ देखि सेप्टेम्बर २०२० सम्म टिमोर लेट्सेको विश्व स्वास्थ्य संगठनको प्रमुख थिए । त्यसअघि उनी मालदिभ्सका लागि डब्लुएचओ प्रमुखको रुमपा काम गरेका थिए ।

त्यसो त विश्व स्वास्थ्य संगठनमा उनको आवद्धता सन् २००४ देखि भएको हो । दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयमा मानसिक स्वास्थ्य तथा दुर्व्यसन  इकाइमा सन् २००४ मा आबद्ध भएदेखि उनी विभिन्न जिम्मेवारीमा कार्यरत छन् ।

सन् २०१६ मा विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ठ पुरस्कारबाट सम्मानित भएका उनी आफ्नो नेतृत्वमा, विश्व स्वास्थ्य संगठनको टिमोर लेट्सेको कार्यालयलाई शारीरिक गतिविधिहरूको प्रर्वर्दन गर्ने ‘वाक द टक अभियान’लाई सार्थक बनाएकोमा सन् २०१८-१९का लागि विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ठ पुरस्कार प्राप्त गरेका थिए ।

डा. पाण्डवका विभिन्न वैज्ञानिक आलेखहरू प्रकाशित छन् ।

विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुपूर्व उनी वेष्टर्न साइक्येट्रिक इन्सटिच्युट एण्ड क्लिनिक, पिट्सवर्ग विश्वविद्यालय मेडिकल सेन्टर, संयुक्त राज्य अमेरिकामा वरिष्ठ अनुसन्धान सहायकको रुपमा कार्यरत थिए । उनले एमबिबिएस् तहको शिक्षा भारतको मुम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट पुरा गरेका हुन् भने पिट्सवर्ग विश्वविद्यालय, अमेरिकाबाट उनले जनस्वास्थ्यमा स्नाकोत्तर गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *