तानसेनको मिसन अस्पतालले पनि ल्यायो सिटिस्क्यान मेसिन, दुई साता पछि सेवा सुरु गर्ने

56
Shares
अस्पतालमा आएको नयाँ सिटिस्क्यान मेसिन

पाल्पा, २२ कात्तिक । तानसेनको भुसालडाँडास्थित युनाईटेड मिसन अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुने भएको छ । अस्पतालले हालै मात्र कार्डियाक सेवा सहितको अत्याधुनिक १६० स्लाइसको सिटिस्क्यान खरीद गरि जडान गरेको छ ।

अस्पतालका निर्देशक डा. रचेल कारखले अबको दुई साता पछि बिरामीहरुका लागि यो सेवा प्रारम्भ हुने बताईन् । ‘सम्भवत: आउँदो शुक्रबार हामीले सिटिस्क्यान मेसिनको उद्घाटन गर्नेछौँ, त्यसपछिको एक हप्ता अरु प्राविधिक काम तथा तालीमका लागि समय लाग्ने छ । त्यसपछि हामी सेवा दिन थाल्ने छौँ,’ नेपाली हेल्थसंग उनले भनिन् ।

मुटुका बिरामीहरुलाई क्याथल्याव सुविधा नभएको यस अस्पतालमा जडान भएको यो सिटिस्क्यान मेसिनले मुटुजन्य समस्यासमेत हेर्न मिल्ने उनले बताईन् । ‘क्याथ ल्यावकै त्यहि उपचार गर्न त मिल्दैन तर समस्याको पहिचान गर्न मिल्छ, समस्या थाहा भयो भने हामीले नजिकैको बुटवलको मुटु अस्पताल वा अन्य अस्पतालमा रिफर गर्न सक्छौँ,’ निर्देशक डा. कारखले भनिन् ।

युनाइटेड मिसन टू नेपालद्धारा सञ्चालित यस अस्पताल उपचारका क्षेत्रमा कहलिएको पश्चिम नेपालको पुरानो अस्पताल हो । पछिल्लो समयमा भने आवश्यकता अनुसार उपकरण उपलव्ध नहुँदा उपचारमा अपुरोपन हुने गरेको सेवाग्राहीहरुको गुनासो थियो ।

सिटिस्क्यान मेसिन सञ्चालनमा आएपछि त्यो अपुरोपनालाई दुर गर्ने सेवाग्राहीको अपेक्षा छ ।

दुई सय शैय्याको यो अस्पतालमा ४० बढी चिकित्सकहरु कार्यरत छन् । यस्तै अस्पतालमा अर्थोपेडिक, गाइने अव्स, पेडियाट्रिक, जनरल फिजिसियन, जनरल प्राक्टिसनर लगायतका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *