शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

काठमाडौँ, २१ कात्तिक । तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै जन्मिएका नवजात शिशु दिवसका अवसरमा आँखाको स्वास्थ्यबारे जनचेतना बढाउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मधुमेह र समयपूर्व जन्मिएका शिशुमा देखिने आँखासम्बन्धी समस्या दुई महत्वपूर्ण चुनौती भएकाले समयमै पहिचान, परीक्षण र उपचार अत्यावश्यक रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार विश्वमा हरेक ९ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको र त्यसबाट डायबेटिक रेटिनोप्याथीको जोखिम बढ्ने भएकाले मधुमेह भएका व्यक्तिहरूले नियमित आँखाको परीक्षण गर्नुपर्ने बताइएको छ ।
यस सन्दर्भमा सचेतनामूलक अडियो–भिडियो निर्माण, सञ्चारमाध्यमसँग सहकार्य, कात्तिक २२ गते प्रतिष्ठानबाट निस्कने र्याली, निःशुल्क आँखापरीक्षण, शैक्षिक कार्यक्रम, अन्तर्क्रिया तथा कात्तिक २९ गते योग–जुम्बा आयोजनासहितका गतिविधि सञ्चालन हुनेछन् ।
यस्तै, नोभेम्बर १७ मा मनाइने विश्व समयअघिनै जन्मिएका नवजात शिशु दिवसको अवसरमा तिलगंगाले समयपूर्व जन्मिएका शिशुमा देखिनसक्ने ‘रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी’ का कारण दृष्टिविहीनता हुन नदिन २८ दिनभित्र परीक्षण आवश्यक भएको जानकारी दिएको छ ।
देशभरका नवजात शिशु उपचार केन्द्र तथा बाल चिकित्सकसँग सहकार्य गर्दै अन्धोपनको जोखिम कम गर्ने उदेश्यसहित स्क्रिनिङ र उपचार गराइँदै आएको संस्थाले जनाएको छ ।
प्रतिष्ठानले नियमित परीक्षण, सन्तुलित आहार, व्यायामजस्ता स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा मद्दत गर्ने तथा समयमै उपचारले जीवनभरको दृष्टि गुम्नबाट बचाउन सकिने बताएको छ ।
साथै, आर्थिक रूपले कमजोर तथा उपचार पहुँच नभएकालाई सहुलियत सेवासमेत दिँदै आएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
