औषधी आयातमा देखिएको समस्या समाधान गर्ने स्वास्थ्य मन्त्री डा. शर्माको आश्वासन
काठमाडौँ, २० कात्तिक । औषधी आयातका सन्दर्भमा देखिएका समस्याहरुलाई हल नेपाल औषधी आयातकर्ता संघ (मियान)ले स्वास्थ्य मन्त्री डा. सुधा शर्माको ध्यानाकर्षण गराएको छ ।
मियान अध्यक्ष पवन आचार्यको नेतृत्वमा विहीबार गएको प्रतिनिधि मण्डलले मन्त्री डा. शर्मालाई भेटी औषधी आयातका क्षेत्रमा देखिएका समस्याका बारेमा अवगत गराएको हो ।
सो क्रममा मन्त्री डा. शर्माले आफू औषधीको विषयमा गम्भीर रहेको भन्दै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएकी थिईन् । ‘हामीले आफ्ना कुराहरु राख्यौँ, उहाँले चासोपूर्वक हाम्रा कुराहरु सुन्नुभयो र समस्या समाधानका लागि सहजीकरण गर्नै आश्वासन दिनु भयो,’ अध्यक्ष आचार्यले भने ।
उनले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका अस्पतालहरुमा स्वास्थ्य बीमा बोर्डले रकम सोधभर्ना गर्न ढिलाई हुँदा आफूहरु समेत फसिरहेको बताएका थिए । मन्त्री शर्माले त्यस विषयमा पनि चाँडै निस्कर्ष निस्कने बताएकी थिईन ।
मियानका महासचिव मधु पौडेलले नव नियुक्त स्वास्थ्य मन्त्री ज्यूलाई भेटेर बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको र सोही क्रममा औषधी आयात क्षेत्रसँग सम्बन्धित विविध समसामयिक समस्याहरू, नीति सुधारका आवश्यकता, र व्यावसायिक सहजताका विषयहरू प्रस्तुत गरेको बताए ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
