आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, २० कात्तिक । आज र भोलि छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाइँदै छ।
नेपाल सरकारले हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो।
देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
