गुरुदेव श्रीश्री रविशंकरलाई २०२५ को ‘वर्ल्ड लिडर फर पिस एन्ड सेक्युरिटी अवार्ड’ प्रदान

बोस्टन, अमेरिका । विश्वप्रसिद्ध आध्यात्मिक नेता र मानवतावादी व्यक्तित्व गुरुदेव श्रीश्री रविशंकरलाई सन् २०२५ को ‘वर्ल्ड लिडर फर पिस एन्ड सेक्युरिटी अवार्ड’ प्रदान गरिएको छ ।
बोस्टन ग्लोबल फोरम (बीजीएफ) ले हरेक वर्ष प्रदान गर्ने यो अवार्डबाट शान्ति, आपसी सहअस्तित्व र नैतिक नेतृत्वका क्षेत्रका विश्वस्तरीय योगदानकर्ताहरू सम्मानित हुँदै आएका छन् ।
सोमबार आयोजित कार्यक्रममा बोस्टन ग्लोबल फोरमका अध्यक्ष तथा सह–संस्थापक गभर्नर माइकल एस. डुकाकिसको तर्फबाट सह–अध्यक्ष तथा प्रमुख कार्यकारी न्गुएन आन टुआनले गुरुदेवलाई सम्मान गरेका थिए। सो अवसरमा उनले गुरुदेवको जीवन–कार्यलाई ‘विश्वभरि करुणा, क्षमाशीलता र आत्मशान्तिको सन्देश फैलाउने असाधारण योगदानको रुपमा व्याख्या गरेका थिए ।
विश्वभर शान्ति र मेलमिलापको सन्देश
त्यसो त ‘द आर्ट अफ लिभिङ’ फाउन्डेशनमार्फत गुरुदेवले विश्वका लाखौँ मानिसमा शान्ति र सकारात्मक जीवनशैलीको अभ्यास फैलाएका छन्। उनले कोलम्बिया, कोट दिभ्वार, भारत, इराक, म्यानमार, श्रीलङ्का र भेनेजुएलाजस्ता द्वन्द्वग्रस्त मुलुकहरूमा मेलमिलाप र पुनःस्थापनाका पहलहरूमा सक्रिय भूमिका खेलेका छन्।
सो अवसरमा बोल्दै बक्ताहरुले “युद्ध, विभाजन र भयले ग्रस्त विश्वमा गुरुदेवको आवाजले सधैं सम्झाउने र सहअस्तित्वको प्रारम्भ मानव हृदयभित्रबाट हुने कुरालाई जोड दिएका थिए ।
प्रविधि र आध्यात्मिकताको संयोजन
बोस्टन ग्लोबल फोरमसँगै आवद्ध एआई वर्ल्ड सोसाइटी (एआईडब्लुएस)ले गुरुदेवको सन्देशबाट प्रेरणा लिएको जनाएको छ । उसले भनेको छ, ‘प्रविधि मानवताको सेवा गर्नुपर्छ, शासन गर्न होइन।’
एआईडब्लुएसले डिजिटल युगमा नैतिकता र आध्यात्मिक मूल्यहरूको संयोजनद्वारा जिम्मेवार नवप्रवर्तनलाई अघि बढाउने लक्ष्य राखेको उल्लेख गरेको छ ।
त्यस अवसरमा, ‘गुरुदेवले हामीलाई सम्झाउनु भयो कि शान्तिको भविष्य नैतिक नवप्रवर्तन र नैतिक कल्पनाशक्तिमा निर्भर छ’ त्यस अवसरमा गभर्नर डुकाकिसको भनाई उल्लेख गर्दै बताइएको थियो ।
दशौँ वार्षिकोत्सवमा विशेष सम्मान
बोस्टन ग्लोबल फोरमले प्रदान गर्न थालेको यो पुरस्कारको दशौँ संस्करण हो । यहि पुरस्कारबाट अघिल्ला वर्षहरूमा जापानका प्रधानमन्त्री शिन्जो आबे, जर्मनीकी चान्सलर एन्जेला मर्केल, र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों लगायतका विश्वनेताहरू सम्मानित भइसकेका छन्।
गुरुदेवलाई यो पुरस्कार प्रदान गर्दै बोस्टन ग्लोबल फोरम एआईडब्लुएस परिवारले उनलाई आफ्नो ‘सम्मानित सदस्य’ को रूपमा स्वागत गरेको बताएको छ ।
‘विश्वमा स्थायी शान्ति तब मात्र सम्भव हुन्छ जब मानिसले आफ्नै अन्तरात्मामा बस्ने करुणा र प्रेमलाई जगाउँछ’
कार्यक्रम समापनको अवसरमा डुकाकिसलेको सन्देश थियो, ‘गुरुदेवको जीवनले हामीलाई सिकाउँछ कि शान्ति केवल द्वन्द्वको अन्त्य होइन, बरु समरसता सिर्जना गर्ने सक्रिय प्रयास हो। यही बाटोले विश्वलाई अधिक दयालु, सुरक्षित र जागृत बनाउनेछ।’
सोही अवसरमा बोल्दै गुरुदेव श्री श्री रविशंकरले प्राप्त गरेको अवार्ड विश्व शान्तिका लागि क्रियाशिल विश्वभरका स्वयंसेवी संस्था तथा व्यक्तिहरुका लागि समर्पण गर्न चाहेको बताएका थिए ।
आफू सधै भरी विश्वमा स्थायी शान्ति र भाइचारालाई अघि बढाउने पक्षमा रहेको भन्दै उनले अगाडी थपे, ‘विश्वमा स्थायी शान्ति तब मात्र सम्भव हुन्छ जब मानिसले आफ्नै अन्तरात्मामा बस्ने करुणा र प्रेमलाई जगाउँछ। धर्म, संवाद र आपसी सद्भावले मानवता जोड्ने शक्ति दिन्छन्। आजको समयमा विभाजन होइन, एकताको चेतना आवश्यक छ। हरेक व्यक्तिले आफ्नो अन्तरमा रहेको प्रकाश फैलाउने प्रयास गर्नुपर्छ, तब मात्र पृथ्वीमा साँचो शान्ति स्थापित हुन सक्छ।’
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
