बाथ मुटुरोग नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड बनाउदै सरकार

64
Shares

काठमाडौं, १८ कात्तिक । सरकारले बाथ मुटुरोग रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड (नेशनल प्रोटोकल) तयार गर्ने कार्यलाई अगाडी बढाएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को आयोजनामा सोमबार सम्पन्न प्रमुख सरोकारवालाको पहिलो बैठकले राष्ट्रिय मापदण्ड बनउने निर्णय गरेको हो।

सो बैठकमा बाथ मुटुरोग नियन्त्रणको आवश्यकता, औचित्यसंगै यसअघि नै तयार पारिएको एक मस्यौदाको प्रस्तुतिसंगै छलफल भएको थियो। बैठकले आगामी दुई महिनाभित्र मापदण्ड अन्तिम रूप दिएर मन्त्रिपरिषद्बाट स्वीकृत गराई लागू गर्ने निर्णय गरेको छ ।

ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले बैठकको बारेमा बताउँदै भने, “यो पहिलो बैठक थियो। बाथ मुटुरोग व्यवस्थापन तथा नियन्त्रणका विविध पक्षमा छलफल भयो। सबै सरोकारवालाबीच मापदण्ड छिटो तयार पारेर लागू गर्ने विषयमा एकमत बन्यो।”

त्यसैगरी, नेपाल एनसीडी एलायन्सका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीले सरकारले बाथ मुटुरोगप्रति ढिलो भए पनि ध्यान दिएकोमा सन्तोष व्यक्त गरे।

“अब आशा बढेको छ। हामीले वर्षौंदेखि आवाज उठाउँदै आएका थियौँ, तर सुनुवाइ भएको थिएन। अहिले सरकारले दुई महिनाभित्र मापदण्ड तयार गर्ने निर्णय गरेको छ, यो आफैंमा महत्वपूर्ण कदम हो,” डा. रेग्मीले भने।

नेपालमा बाथ मुटुरोगको अवस्था कस्तो छ ?

नेपालमा हरेक वर्ष करिब ३० हजारभन्दा बढी नयाँ बिरामी बाथ मुटुरोगबाट प्रभावित हुने गर्छन्। तीमध्ये करिब ३ हजार बालबालिकाको मृत्यु हुने अनुमान छ।

सरकारले हाल बाथ मुटुरोगका बिरामीको उपचार (शल्यक्रिया) का लागि वार्षिक ५० करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। तर रोगथाम सम्वन्धी कार्यका लागि कति पनि बजेट विनियोजन गरेको छैन ।

डा. रेग्मीका अनुसार गर्भवती महिलाहरु सुत्केरी हुने क्रममा हुने मृत्युको करिब ३० प्रतिशत कारण बाथ मुटुरोगसँग सम्बन्धित रहेको छ। यो रोग नेपालमा हुने मृत्युका कारणमध्ये १०औँ प्रमुख कारण हो। पछिल्लो दशकमा यसबाट मृत्यु हुनेको संख्या अझै बढ्दो छ।

डा. रेग्मीका अनुसार नेपालमा बाथ मुटुरोगका करिब ८० प्रतिशत बिरामी अहिले पनि उपचारको पहुँचबाहिर रहेको अनुमान छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बाथ मुटुरोगलाई सन् २०२५ सम्म २५ प्रतिशतले घटाउने लक्ष्य लिएको थियो भने सन् २०३० सम्म नसर्ने रोगबाट हुने अल्पायु मृत्युलाई एक तिहाईले घटाउने लक्ष्य तय गरेको छ।

अहिलेको अवस्थामा बाथमुटुरोग सम्बन्धी लक्ष्य प्राप्तीमा सफलता पाउन कठिन देखिएको छ भने यसमा सफल नभएको अवस्थामा नसर्ने रोगबाट हुने मृत्यु सम्बन्धी पाँच वर्ष भित्रको लागि तय गरिएको लक्ष्य भेटाउन पनि मुस्किल हुने सरोकारवालाहरुले बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *