शनिबारको सहमतिबाट ‘ब्याक’ भयो नर्सिङ संघ, आन्दोलन जारी राख्ने निर्णय

136
Shares

काठमाडौँ, १६ कात्तिक । नर्सको सेवा सुविधाका सम्वन्धमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पछि सहमतिका बुँदामा हस्ताक्षर गरेको नेपाल नर्सिङ संघ ‘ब्याक’ भएको छ ।

आज विज्ञप्ती जारी गर्दै एक नम्बर बुँदामा सहमति भए पनि बाँकी बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति भएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उसले माग पुरा गर्न ४८ घण्टाको समय सिमा तोक्दै त्यस अवधी भित्र बाँकी माग पुरा नभए निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्री डा सुधा शर्माको उपस्थितिमा भएको हिजो छलफलमा निजी मेडिकल कलेज सञ्चालक, निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिसहित नर्सिङ संघका प्रतिनिधिले पनि हस्ताक्षर गरेका थिए ।

तर आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको पक्षबाट प्रतिनिधि बनेर गएकी ज्योति रानाभाटको समूहले सहमतिमा आपत्ती जनाएर हस्ताक्षर नगरी फर्केको थियो । उनीहरुको समूहले आज विहान देखि नै नर्सिङ संघको केन्द्रीय कार्यालयमा सहमतिमा हस्ताक्षर गर्ने संघका पदाधिकारीहरु विरुद्ध चर्का नाराबाजी गरेको थियो ।

त्यसपछि दिउसो विरोधमा उत्रिएका नर्स प्रतिनिधिसंग आकस्मिक छलफल गरी संघले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *