नर्सिङ संघ र अफिन नेतृत्वसंग जब स्वास्थ्य मन्त्री डा. शर्माको जम्का भेट भयो….

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, 'भोलीसम्ममा केही निकास आउन सक्छ'
252
Shares

काठमाडौँ, १२ असोज । बुधबार अपरान्ह सिंहदरबारमा  बैठक सकेर स्वास्थ्य तथा मन्त्रालय छिरेकी स्वास्थ्य मन्त्री डा. सुधा शर्माको गाडीबाट ओर्लदै गर्दा नेपाल नर्सिङ संघ र निजी अस्पताल सञ्चालकको संस्था (अफिन)को नेतृत्व तहका व्यक्तिसंग जम्का भेट भयो ।

मन्त्री डा. शर्माले नर्सिङ आन्दोलनको निकासका लागि मन्त्रालयले थालेको छलफलमा सहभागी भई निस्कन लागेका नर्सिङ संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा, महासचिव डा. देवका आचार्य, सदस्य मेनुका पोखरेल लगायतको टोली अनि अफिनका अध्यक्ष डा. पदम खड्कासंग केहीबेर उभिई उभिई गफ गरिन् । संगै थिए स्वास्थ्य सचिव डा. विकास देवकोटा पनि ।

नर्सिङ आन्दोलनको अवस्था र निकासका विकल्प बारेमा उनले दुबै पक्षसंग अनौपचारिक छलफल गरिन् । मौकामा नर्सका प्रतिनिधिहरुले मन्त्री डा. शर्मासंग आफ्ना धारणा राखे, अफिन अध्यक्ष डा. खड्काले पनि आफ्ना भनाई बीचबीचमा जोडि राखे ।

‘नर्सका मागका विषयमा सरकार गम्भीर छ , त्यसैले बार्ता छलफलका कार्यलाई तिब्रता दिएको छ । अब छिटै नै यसको सुखद परिणाम निस्कन्छ,’ नर्सिङ तथा अस्पताल प्रतिनिधिहरुसंग छुट्टिएपछि मन्त्री डा. शर्माले  नेपाली हेल्थसंग भनिन् । उनले माग पुरा गराउने विषयमा विभिन्न पक्षसंग विभिन्न कोण र चरणबाट छलफल भईरहेको र सकारात्मक दिशा तर्फ अघि बढेको दावी गरिन् ।

हुन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ आन्दोलनको निकासका लागि भन्दै विभिन्न चरणमा विभिन्न पक्षसंग मुख्य बैठक र साइडलाइन बैठक गर्दै आइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भोलीसम्ममा निकास निस्कने ठोकुवा गरे । ‘हामी सहमतिको निकै नै नजिक पुगेका छौँ । हामीले सबै सरोकारवाला पक्षसंग एक पक्षीय र बहुपक्षीय बार्ता तथा छलफल गर्दै आईरहेका छौँ । अब भोली पुन: बहुपक्षीय छलफलको आयोजना हुँदैछ । यो छलफलले सहमतिको विन्दुमा पुर्‍याउने हाम्रो आशा छ,’ डा. बुढाथोकीले भने ।

नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक शर्माले मागका विषयमा मन्त्रालयले कोशिश गरे पनि निस्कर्षमा पुगिनसकिएको बताईन् । उनले आन्दोलनको नयाँ चरण अन्तर्गत आजैबाट नर्सहरुले आकस्मिक बाहेकका सेवाहरु विहान १० देखि १२ बजेसम्म बहिस्कार गर्न थालेको बताईन् । उनले यो क्रम भोली पनि जारी रहने उल्लेख गरिन् ।

नर्सहरुले खासगरी निजी स्वास्थ्य संस्थामा आफूहरुको श्रम शोषण हुने गरेको भन्दै सरकारी सरह सुविधाको माग गर्दै आन्दोलन थालेका हुन् । उनीहरुले स्टाफ नर्सको न्युनतम तलव सरकारी सरह ३४ हजार ७३० रुपैयाँ हुनु पर्ने अडान कायम रहेको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *