आयात गरिएका औषधीको मूल्य बढेको छैन, भ्रम नफैलाइयोस् : नेपाल औषधी आयातकर्ता संघ
काठमाडौँ, १२ कात्तिक । केही दिन यता सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यमले आयातित औषधीको मूल्यका विषयमा भ्रम सिर्जना गरेको भन्दै नेपाल औषधी आयातकर्ता संघले आपत्ती जनाएको छ ।
उसले आज विज्ञप्ती जारी गर्दै आयातित औषधीको सन्दर्भमा समाचारमा आए जस्तो औषधी व्यवस्था विभागले जथाभावी रुपमा मूल्य बृद्धि नगरेको दावी गरेको छ ।
संघका अध्यक्ष पवन आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा करिब ३५० विदेशी औषधी उद्योगका औषधीहरु करिब १२५ आयातकर्ताहरुले मात्रै आयात र वितरण गर्दै आएका छन्। औषधी आयातको लागि विभागले तोकेको कागजात, डब्लूएचओ-जीएमपी प्रमाणीकरण, स्थलगत निरीक्षण र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र औषधी दर्ता हुने व्यवस्था रहेको छ।’
विज्ञप्तिमा औषधी दर्ता कार्यबिधि–२०७३ र औषधी दर्ता नियमावली–२०३८ अनुसार दर्ता हुने प्रत्येक औषधीको अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गरिने उल्लेख छ। आयातित औषधीहरु उत्पादकले आफ्नो देशको सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेको खुद्रा मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न नपाइने पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तै औषधी ऐन २०३५ को दफा २६ अनुसार नेपाल सरकारले ११७ प्रकारका औषधीहरुमा अधिकतम खुद्रा मूल्य निर्धारण गरेको र ती मूल्यहरु विगत दुई दशकदेखि अद्यावधिक नभएको बताएका छन्। साथै औषधीको उत्पादन र वितरणमा कच्चा पदार्थ, प्याकिंग सामग्री, ढुवानी, मुद्रास्फ्रिती जस्ता कारणले मूल्यमा समयअनुसार फरक पर्न सक्ने हुँदा सम्बन्धित उद्योगले प्रमाणित पत्रसहित पेश गरेमा मात्र विभागले मूल्य समायोजन अनुमति दिने प्रक्रिया रहेको उल्लेख गरिएको छ।
छ बुँदे उक्त विज्ञप्तीमा संघले सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई औषधी नियामक निकाय, उत्पादक, आयातकर्ता तथा वितरणसँग प्रत्यक्ष संलग्न स्रोतहरुसँग यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।


सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
