स्वास्थ्यमा ‘पाल्पा प्रथम’ भयो पूर्वखोला
पाल्पा, २ कात्तिक । आर्थिक वर्ष २०८१ /०८२ मा पाल्पा जिल्लाका स्थानीय तहहरू र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रमुख सूचकहरूका आधारमा स्वास्थ्य कार्यालय पाल्पाले गरेको मूल्याङ्कनमा पूर्वखोला गाउँपालिकाले प्रथम स्थान प्राप्त गर्न सफल भएको भएको छ ।
पूर्वखोलाले ६६.०५ अंक ल्याएर जिल्ला प्रथम भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा गत बिहीबार र शुक्रबार तानसेनमा आयोजित आर्थिक वर्ष २०८१ /०८२ मा सञ्चालित कार्यक्रमहरुको बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/ ०८३ को कार्यक्रम कार्ययोजना गोष्ठीको अवसरमा सूचकहरुको मूल्यांकन गर्दै पुरस्कृत गरिएको हो ।
पुरस्कृत स्थानीय तहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सम्मान पत्र प्रदान गरेका थिए ।
पूर्वखोलाका स्वास्थ्य प्रमुख मोहन ढकालले आगामी दिनमा अझ् प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्नका लागि सम्मानले प्रेरणा दिएको भन्दै थप सुधारका लागि सबैको निरन्तर सहयोग, सहभागिता र प्रतिवद्धताको आवश्यकता रहेको बताए ।
मूल्यांकनमा ६५.३५ अंकका साथ निस्दी गाँउपालिका दोस्रो र ६४.९८ अंकका साथ रैनादेवी छहरा गाउँपालिका तेस्रो भएको छ ।
सम्पर्क इमेल : [email protected]