सरकारी सरह तलव सुविधाको माग गर्दै विराट मेडिकल कलेजका नर्सहरु पनि आन्दोलनमा, भर्ना भएका बिरामी अन्यत्र पठाउन थालियो
काठमाडौँ, १ कात्तिक । सरकारी सरह तलव सुविधा बढाउनु पर्ने माग राख्दै मणिपाल मेडिकल कलेजबाट सुरु भएको नर्सहरुको आन्दोलन विराट मेडिकल कलेजसम्म पुगेको छ ।
अस्पतालमा कार्यरत नर्सहरु आज डिउटी छाडेर धर्नामा बसेपछि अस्पतालले भर्ना भएका बिरामीहरु अन्यत्रका अस्पतालमा रिफर गरेको छ ।
त्यसअघि अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आन्दोलनरत पक्षलाई आईसीयू र इमरजेन्सीका बिरामीहरुलाई हेरिदिन आग्रह गरेका थिए । ‘तपाईँहरुको मागको विषयमा अस्पताल प्रशासन गम्भीर नै छ । यसका लागि केही छलफलको आवश्यकता छ । तपाईँहरु आन्दोलनमै आए पनि इमरजेन्सी र आईसीयू डिउटी भएकाहरुले आफ्नो कर्तव्य पुरा गर्नुहोला त्यहाँ रहेका बिरामीहरुलाई नछाड्नुहोला भनेको हो तर सुनुवाई भएन । मैले अस्पतालको सेवा बन्द गरिदिएँ,’ डा कार्कीले नेपाली हेल्थसंग भने ।
उनले नर्सहरुले सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएपछि ५०० बढी बिरामी अन्यत्र रिफर भएको दावी गरे । उनले आईसीयू र भेन्टिलेटरमा रहेका करीव ४० बिरामी अन्यत्र लैजान नमिलेर राखिएको बताए ।
‘आन्दोलन गर्दा यति साह्रै गैरजिम्मेवार हुन पाईदैन तर भईदिए । हामी निकै नै दुखि छौँ । सेवा बन्द गर्नुको विकल्प भएन,’ उनले भने ।
डा. कार्कीले नर्सहरुले शुक्रबार आफूहरुसंग माग राखेको र छलफल समेत गरेर पुन बस्ने भन्दा भन्दै शनिबारबाट सेवा बहिस्कार गर्दै आन्दोलनमा उत्रिएको दावी गरे । ‘हामीले पनि केही तयारी त गर्नुपर्छ । यति आजको भोली नै माग पुरा हुनुपरयो भनेर आउनु हुन्छ । कसरी सकिन्छ ?,’ उनले प्रतिप्रश्न गर्दै भने ।
यता नेपाल नर्सिङ संघले निजी मेडिकल कलेजहरुले लामो समय देखि नर्सहरुको श्रम शोषण गरेको भन्दै सरकारले गत २७ मंसिरमै तलव सुविधाका सम्वन्धमा परिपत्र गरे पनि त्यसको अटेरी गरेकोले कडा आन्दोलनमा जानु परेको बताउँदै आएको छ ।
संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सहरुको माग आज मात्रै उठेको नभई पहिल्यै देखि उठाउँदै आएको बताईन । उनले भनिन् , ‘नर्स सहित स्वास्थ्यकर्मीहरुको न्युनतम तलव सुविधाका बारेमा सरकारले झण्डै एक वर्ष अघि देखि नै परिपत्र गरेको हो, पछिल्लो पटक गत २४ असोजमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबारेमा पुन ध्यानाकर्षण गराएको हो । अब थाहा भएन भन्न त कसरी मिल्यो र ?’ प्रतिप्रश्न गर्दै भनिन् ।
नर्सहरुको आन्दोलन चर्कदैँ जाँदा प्रधानमन्त्री सुशीला कार्कीले गत विहीबार स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुलाई बोलाई समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी थिईन । सोही अनुसार मन्त्रालयले शुक्रबार (हिजो) प्रमुख सरोकारवालासंग प्रारम्भिक छलफल गरेको थियो ।
उसले (आईतबार) भोली थप सरोकारवालाहरुलाई समेत बोलाएर नर्सको आन्दोलन र मागका विषयमा छलफल गर्ने बताएको छ ।
सम्पर्क इमेल : [email protected]